अमेरिकी आर्थिक वृद्धि सुस्तायो

download (1)अमेरिका । सन् २०१४ को प्रथम त्रैमासमा अमेरिकाको आर्थिक वृद्धिदर घटेको छ । अमेरिकी वाणिज्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिमा आर्थिक वृद्धिदर शून्य दशमलव १ प्रतिशतमात्र रहेकोे छ । यो वर्षको जनवरी–मार्च अवधिको वृद्धिदर सन् २०१२ को चौथो त्रैमासपछिकै सबैभन्दा कमजोर देखिएको छ ।  त्यस्तै अमेरिकाको सुस्त आर्थिक वृद्घिले गतवर्ष सन्तोषजनक देखिएको कुल गार्हस्थ्य उत्पादन ९जीडीपी०मा समेत प्रभाव पारेको विश्लेषण गरिएको छ । प्रतिकूल मौसम र घट्दो निर्यातले अमेरिकी वृद्घि घटाएको मन्त्रालयको भनाइ छ । यद्यपि मौसममा सुधार भइरहँदा आर्थिक गतिविधिले भने क्रमिक रूपमा गति लिइरहेको मन्त्रालयले बताएको छ । जनवरी–मार्च अवधिमा अमेरिकी व्यावसायिक लगानी २ दशमलव १ प्रतिशतले घटेको छ । सो अवधिमा औद्योगिक र व्यावसायिक उपकरणमाथिको खर्च गतवर्षको तुलनामा साढे ५ प्रतिशतले कम भएकाले लगानी घटेको हुन सक्ने बताइएको छ । त्यसैगरी अत्यधिक चीसोले प्रभावित आवासीय निर्माण पनि ५ दशमलव ७ प्रतिशतले घटेको जानकारी पनि मन्त्रालयको दिएको छ । चर्को घरजग्गा मूल्य र विक्रीका लागि उपलब्ध घरको कमीका कारण पनि निर्माण क्षेत्र प्रभावित बनेको थियो । यद्यपि अमेरिकी आर्थिक वृद्घिमा करीब ७० प्रतिशत योगदान दिने उपभोक्ता खर्च भने ३ प्रतिशतले बढेकोे छ । सो अवधिमा सेवाक्षेत्रमा भएको खर्च ४ दशमलव ४ प्रतिशतले बढ्दा उपभोक्ता खर्च बढेको हो । गतवर्ष अमेरिकी सरकारी कामकाज १६ दिनसम्म ठप्प भएपछि राज्य र स्थानीय सरकारी खर्चमा भएको कटौतीले पनि आर्थिक गतिविधिमा सङ्कुचन ल्याएकोे मन्त्रालयको जिकीर छ । यद्यपि अप्रिल–जुन अवधिमा भने अमेरिकी अर्थतन्त्रमा बलियो पुनर्बहाली हुने धेरै अर्थविद्ले अनुमान गरेका छन् । सो अवधिमा अर्थतन्त्र ३ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *