ओईसीडीद्वारा आर्थिक वृद्धिको प्रक्षेपण कटौती

अमेरिका । सन् २०१४ मा विश्वव्यापी आर्थिक वृद्धिमा अनपेक्षित कमी आउने अनुमान गरिएको छ । आर्थिक सहयोग तथा विकासका लागि सङ्गठन (ओईसीडी)ले सार्वजनिक गरेको एक प्रतिवेदनमा यो वर्ष विश्व अर्थतन्त्र ३ दशमलव ४ प्रतिशतले मात्र बढ्ने अनुमान गरिएको छ । ओईसीडीले गत नोभेम्बरमा ३ दशमलव ६ प्रतिशतको आर्थिक वृद्धिको प्रक्षेपण गरेको थियो । तर, यो वर्ष वृद्धिदर सुस्ताए पनि सन् २०१५ मा भने विश्व अर्थतन्त्र ३ दशमलव ९ प्रतिशतले बढ्ने सङ्गठनको दाबी छ । ‘विश्व अर्थतन्त्रको जोखीम अझै पनि बाँकी नै छ,’ ओईसीडीका महासचिव एञ्जेल गुर्रियाले भने ।

images

 यसैक्रममा यो वर्ष बेलायतमा ३ दशमलव २ प्रतिशतको आर्थिक वृद्घि हुने ओईसीडीले अनुमान गरेको छ । यो गत ६ महीनाअघि गरेको २ दशमलव ४ प्रतिशतको वृद्घि प्रक्षेपणभन्दा बढी हो । त्यस्तै सन् २०१५ मा बेलायती अर्थतन्त्र २ दशमलव ७ प्रतिशतले बढ्ने पूर्वानुमान गरिएको छ । यो जी–७ समूह राष्ट्रमध्ये सबैभन्दा बढी हो । बेलायतको लचिलो मौद्रिक नीति र रोजगारी सृजनाको सुदृढ परिदृश्यका कारण वृद्धि प्रक्षेपणमा सुधार आएको ओईसीडीको दाबी छ । त्यस्तै बेलायतको घरायसी खर्च र लगानीले समेत गति लिने र आर्थिक गतिविधिमा थप सुधार आउने सङ्गठनको भनाइ छ । यससँगै ओईसीडीले अमेरिका र चीनको आर्थिक वृद्घि प्रक्षेपणसमेत कटौती गरेको छ । यो वर्ष चीनमा ७ दशमलव ४ प्रतिशतको आर्थिक वृद्घि हुने ओईसीडीको अनुमान रहेको छ । गत नोभेम्बरमा भने चीनको अर्थतन्त्र ८ दशमलव २ प्रतिशतले बढ्ने अनुमान गरिएको थियो । यसैक्रममा अमेरिकी आर्थिक वृद्घि प्रक्षेपणमा समेत कटौती गर्दै २ दशमलव ६ प्रतिशतमा झारिएको छ । यसअघि अमेरिकी अर्थतन्त्र २ दशमलव ९ प्रतिशतले बढ्ने अपेक्षा गरिएको थियो । उता, यूरोक्षेत्रको वृद्घि प्रक्षेपण भने बढेको छ । यसअघि १ प्रतिशतको आर्थिक वृद्धि पूर्वानुमानलाई पुनरवलोकन गर्दै १ दशमलव २ प्रतिशत कायम गरिएको बताइएको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *