जापानी जीडीपी वृद्धिदर ३ वर्षकै तीव्र

indonesiako_1344325372जापान। जापानको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) प्रथम त्रैमासमा ३ वर्षकै तीव्र दरले बढेको छ । जापानी मन्त्रिपरिषद्को कार्यालयले बिहीवार बताएअनुसार जनवरी–मार्च अवधिको जीडीपी वृद्धिदर वार्षिक आधारमा ५ दशमलव ९ प्रतिशत रहेको छ । यो विश्लेषकहरूले गरेको पूर्वानुमानभन्दा बढी हो । त्रैमासका आधारमा भने जीडीपी वृद्धिदर साढे १ प्रतिशत भएको मन्त्रालयले उल्लेख गरेको छ । जापान सरकारले अप्रिलदेखि लागू हुने गरी विक्रीकर बढाउने घोषणा गरेपछि गत त्रैमासमा उपभोक्ताले गरेको उच्च खर्चका कारण जीडीपी वृद्धिदर बढेको आँकलन गरिएको छ । गत महीनादेखि त्यहाँ विक्रीकर बढाएर ८ प्रतिशतमा पुर्‍याइएको थियो । त्यसैगरी सरकारले आवश्यकताअनुसार सन् २०१५ देखि १० प्रतिशतसम्म कायम गर्न सक्ने अनुमान पनि गरिएका छन् । सरकारी तथ्याङ्कअनुसार व्यापारीरव्यवसायीहरूको पूँजीगत खर्च पनि प्रथम त्रैमासमा अघिल्लो त्रैमासको तुलनामा ४ दशमलव ९ प्रतिशतले बढेको छ । यो विश्लेषकहरूले गरेको अनुमानभन्दा दोब्बरले बढी हो । आम उपभोक्तासँगै व्यापारिक क्षेत्रको खपत बढ्नुले अर्थतन्त्रमा सकारात्मक योगदान गरेको विश्लेषण गरिएको छ । निजी खपतले जापानी अर्थतन्त्रमा ६० प्रतिशत योगदान गर्ने गरेको छ । विश्लेषकहरूले भने दोस्रो त्रैमासमा जीडीपी वृद्धिदर घट्ने पूर्वानुमान गरेका छन् । विक्रीकर बढाइएपछिको अवस्थामा दोस्रो त्रैमासमा यही वृद्धिदर कायम नहुने उनीहरूको भनाइ छ । यद्यपि, प्रधानमन्त्री सिञ्जो आबेले लागू गरेका आक्रामक आर्थिक तथा मौद्रिक नीतिहरूले आर्थिक पुनर्बहालीलाई कायमै राख्ने विश्लेषकहरू बताउँछन् । ‘दोस्रो त्रैमासको वृद्धिदरमा सङ्कुचन आए पनि हालै गरिएका सर्वेक्षणहरूले समग्रमा आर्थिक मनोबल सकारात्मक नै रहेको देखाएका छन्, यसले कर वृद्धिपछिको उतारचढावलाई बेहोर्नसक्ने देखिन्छ,’ टोकियोस्थित पीएनसी फाइनान्सियल ग्रूपका अर्थशास्त्री बिल एडम्सले भने । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *