भारू एशिया प्रशान्तकै उत्कृष्ट

एजेन्सी । नरेन्द्र मोदीको नेतृत्वमा नयाँ सरकार आगमनको उत्साह र व्यापक पूँजी आप्रवाहका कारण केही दिनदेखि भारतीय रुपया (भारू)को भाउ आकासिएको छ । अमेरिकी डलरको तुलनामा भारतीय रुपयाको भाउ ११ महीनाकै उच्च विन्दुमा उक्लिएपछि भारू एशिया प्रशान्त क्षेत्रकै बलियो मुद्राका रूपमा दरिएको छ । सन् २०१४ को शुरुआतयता अमेरिकी डलरको तुलनामा ५ दशमलव ३ प्रतिशतले बढेको रुपया अन्य एशिया प्रशान्त राष्ट्रका मुद्राभन्दा अगाडि आएको हो । गत शुक्रवारको अन्तिम कारोबारमा १ अमेरिकी डलरबराबर भारू ५८ रुपया ५२ पैसामा किनबेच भएको थियो । त्यस्तै विगत १ महीनाको अवधिमा भारतीय रुपयाले ५ दशमलव ३ प्रतिशतको वृद्घि हासिल गरेको बताइएको छ ।

download

यसैक्रममा सन् २०१४ को शुरुआतमा भारतीय रुपयाको मूल्य डलरको तुलनामा ६१ रुपया ८ पैसा थियो । रुपयाले ६ महीनाभन्दा कमको अवधिमा करीब ३ सय २७ पैसाको वृद्घि हासिल गरेको थियो । विदेशी सहायताको आप्रवाहका कारण रुपयाको भाउ बढ्न सहयोग पुगेको सरकारी अधिकारीहरूले बताएका छन् । नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी ९भाजपा०ले हालै सम्पन्न लोकसभा निर्वाचनमा ऐतिहासिक जित हासिल गरेपछि भारतीय अर्थतन्त्रप्रति विश्वका लगानीकर्ताको ध्यान आकृष्ट भएको छ । मोदीले सोमवार प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दैछन् । यससँगै भारतमा आर्थिक पुनर्बहालीका लागि व्यापक सुधारका कार्यक्रम अगाडि बढाइने आशा लिइएको छ । एशिया प्रशान्त क्षेत्रमा रुपयाको बढ्दो भाउलाई पछ्याउँदै इण्डोनेशियाको रुपिया, न्यूजिल्याण्ड र अष्ट्रेलियाका डलर पनि बढ्दो गतिमा छन् । सो अवधिमा इण्डोनेशियाको रुपिया, न्यूजिल्याण्ड डलर र अष्ट्रेलियाली डलरले क्रमशः ४ दशमलव ६ प्रतिशत, ३ दशमलव ७५ प्रतिशत र साढे ३ प्रतिशतको वृद्घि हासिल गरेका छन् । त्यस्तै जापानी येन, दक्षिण कोरियाली वन र मलेशियाको रिङ्गिटले पनि २ देखि ३ प्रतिशतसम्मको वृद्घि हासिल गरेका छन् । यसैक्रममा फिलिपिन्सको पेसो पनि १ दशमलव ६ प्रतिशतले बलियो बनेको छ भने उता थाइल्याण्डको भाट र सिङ्गापुर डलरमा पनि शून्य दशमलव ५ प्रतिशतको वृद्घि देखिएको छ । यद्यपि, पछिल्लो समय भारतीय मुद्रा तीव्र रूपमा बलियो बनेसँगै यसले केही अवमूल्यनको सामना गर्नुपर्ने हुन सक्ने केही विश्लेषकहरूले चिन्ता व्यक्त गरेका छन् । एजेन्सीहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *