खडेरीले पत्ती उत्पादन नहुँदा कारखाना बन्द

इलाम । लामो समयसम्म वर्षा नभई खडेरी परेकाले हरियो पत्ती उत्पादन हुन नसक्दा इलामका २४ वटाभन्दा बढी कारखाना बन्द भएका छन् । “चियाको पहिलो पत्ती टिपाई सकेपछि लगत्तै खडेरीका कारण पत्ती बाँझी बस्यो, त्यसपछि अहिलेसम्म एक महिना भयो पत्ती नै आएको छैन”–कन्याम–२ स्थित मङ्गल चिया कारखानाका प्रबन्धक सुजन थापाले भन्नुभयो । टिपाई सुरु हुँदा पनि पर्याप्त वर्षा नभएकाले अधिकांश चिया बगानमा मुना पलाउन सकेको छैन । वैशाख र जेठको पहिलो सातासम्म खडेरी लागेकाले बोट बाँझी बसेको हो । “दैनिक १०-१२ हजार पत्ती आउने कारखाना अहिले सय किलो पुग्न पनि मुस्किल परेको छ”–थापाले भन्नुभयो । चिया बाँझी बसे पनि कारखाना सञ्चालन हुँदै आए पनि कारखाना बन्द नगरिएको तर यसपटक भने पत्ती नै नआएपछि बन्द गरेको मालुम टीका कर्मचारी विजय कट्टेलले सुनाउनुभयो ।

chiyapatti-Tipdai-Mahil

एक महिनादेखि हरियो पत्ती उत्पादन नहुँदा कारखाना बन्द छन् । यहाँ दैनिक २०० किसानले हरियो पत्ती ल्याउने गरेका छन् । वैशाख तेस्रो सातादेखि पत्ती बाँझी बसेको छ । इलामका पूर्वी क्षेत्रका सानाठूला गरी करिब २४ वटा कारखाना पत्ती अभावमा बन्द भएका छन् । पत्ती प्रशोधन नहुँदा कारखानालाई दैनिक लाखौँ घाटा भइरहेको प्रबन्धक थापा बताउनुहुन्छ । कारखानाको क्षमताअनुसार चियापत्ती आउन अझै एक साता लाग्ने कारखाना सञ्चालकहरू बताउँछन् । दैनिक दुई हजार किलोसम्म प्रशोधन गर्ने क्षमता भएका कारखानामा पत्ती नै नआएपछि बन्द गर्नु परेको पञ्चकन्यास्थित इलाम टी प्रोड्युसर्स प्रालिका कर्मचारी महेश अर्यालले बताउनुभयो । यो सिजनमा जिल्लामा दैनिक एक लाख किलोग्राम हरियोपत्ती उत्पादन हुने गरेको थियो । कारखाना बन्द हुँदा कार्यरत मजदुर तथा किसानलाई समेत दैनिक लाखौँ घाटा भइरहेको छ । चियाको मुना पलाउन अनुकूल तापक्रम भए पनि लामो समय सुख्खा भएकाले उत्पादन हुन नसकेको कन्यामका काजीमान कागते बताउनुहुन्छ । “यो सिजनमा दोस्रो फल्स टिपाई हुनुपर्ने हो तर पानी नपरेकाले बाँझी बस्यो”–कागते भन्नुहुन्छ । “एक त मूल्य कम पाइरहेका थियौँ, त्यसमाथि पनि पत्ती बाँझी बस्यो यसपालि त चियाले डुबायो”–भन्नुहुन्छ चिया किसान काजीमान कागते । नेपाल चिया विकास निगमअन्तर्गतका कारखाना बन्द हुनुपूर्व अर्गानिक कारखानाले प्रतिकिलो रु ३५ देखि रु ४५ सम्म मूल्य दिँदै आएका थिए । तर दोस्रो पल्ट पत्ती टिप्दा मूल्य बढ्ने किसानको विश्वास छ । थोरै पत्ती भए पनि निरन्तर प्रशोधन गरिरहनुपर्दा उत्पादनभन्दा लागत बढी पर्न जाने कारखानाकी कर्मचारी इन्दिरा गुरुङको भनाइ छ । पूर्वका चिया कारखानाले वार्षिक ३५ लाख किलोग्रामभन्दा बढी अर्थाेडक्स चिया उत्पादन गर्दै आएका छन् । नेपाल चिया विकास निगमअन्तर्गतका इलाम र झापाका गरी सातवटा बगानमा पत्ती बाँझी बस्ने समस्या विगतदेखि नै चलिरहेको छ । चियालाई निरन्तर सिँचाइ आवश्यक पर्ने भए पनि ठूला बगानमा यसो गरेको पाइँदैन । जिल्लामा किसानले आफैँ सञ्चालन गरेका निजी तथा साना बगानमा सिँचाइको व्यवस्था गरेका छन् । जसले गर्दा खडेरीका कारण बाँझीको समस्या भोग्नुनपर्ने किसान बताउँछन् । दुई दिनअघि परेको अविरल वर्षाका कारण मुना पलाउन एक साता लाग्ने कारखाना सञ्चालकहरूको भनाइ छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *