अर्थमन्त्रीले भने, लक्ष्यभन्दा २० प्रतिशत धेरै राजस्व उठाउनुस्, पुससम्ममा ०.२९ प्रतिशतले धेरै

काठमाडौं। चालु आर्थिक वर्षमा लक्ष्यभन्दा २० प्रतिशत धेरै राजस्व असुली गर्न अर्थ मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ। आर्थिक वर्षको पहिलो अर्धवार्षिक राजस्व समीक्षा बैठकमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तोकिएभन्दा धेरै राजस्व संकलन गर्न निर्देशन दिएका हुन्। सरकारले बजेटमार्फत चालु आर्थिक वर्षमा ७ खर्ब ३० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ।

अर्थमन्त्री कार्कीले ६ महिनामा तोकिएको राजस्व असुली भएपनि राजस्व प्रशासनमा क्रियाशील पदाधिकारीहरुले आत्मसमीक्षा गर्दै र आफ्नो कर्तव्यलाई केन्द्रविन्दुमा राखेर उच्च नैतिकताका साथ तोकिएको राजस्व लक्ष्य भन्दा २० प्रतिशत बढी असुली गर्नेगरी क्रियाशील रहन निर्देशन दिएका छन्।

छलफलमा अर्थ राज्यमन्त्री उदयशम्शेर राणाले मुलुकको खर्चको आवश्यकता र माग बढिरहेको सन्दर्भमा अपेक्षित लक्ष्यभन्दा बढी असुली गरेर राजस्व प्रशासनका कर्मचारीले आफूहरुको कार्यसम्पादन उच्च कोटीको रहेको देखाउने बेला आएको बताए।

चालु आवको पुस मसान्तसम्मको लक्ष्य ३ खर्ब ३४ अर्ब १४ करोड रुपैयाँ रहेकोमा लक्ष्यभन्दा करिब १ अर्ब रुपैयाँ बढी असुली भएको छ। पुससम्म ३ खर्ब ३५ अर्व १० करोड रुपैयाँ राजस्व असुली भएको छ । यो अवधिमा सङ्कलित राजस्व वार्षिक लक्ष्यको ४५.९ प्रतिशत हो भने ६ महिनाको लक्ष्यको ०.२९ प्रतिशतले मात्रै बढी हो ।

अर्थ सचिव शङ्करप्रसाद अधिकारीले समयानुकूल पृथक कार्यशैली, व्यवहार र क्रियाशीलताले मात्रै राजस्व लक्ष्य प्राप्त हुने बताए। ‘भन्सारतर्फ वस्तु वर्गीकरण र मूल्याङ्कनलाई यथार्थपरक बनाई तस्करी एवं चोरीपैठारी नियन्त्रण गर्नु आवश्यक छ,’ उनले भने, ‘आन्तरिक राजस्वतर्फ अनुसन्धानलाई तथ्यमा आधारित बनाएर ठोस एवम् नतिजामुखी बनाउन र कर परीक्षणको गुणस्तर वृद्धि गर्नु जरुरी छ ।’

कार्यक्रममा राजस्व सचिव शिशिरकुमार ढुङ्गानाले कर प्रशासनको शाख जोगिने गरी दक्षता एवं परिणाममुखी कार्य सम्पादन गरी लक्ष्य हासिल गर्न मातहतका कर्मचारीलाई निर्देशन दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *