विदेश जाने नेपाली कामदारको संख्यामा गिरावट, साउदी र कतार जानेको संखया घट्यो, मलेशियामा आकर्षण

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा विदेशीने नेपालीको संख्यामा गिरावट आएको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनामा १ लाख ७५ हजार नेपाली वैदेशिक रोजगारीको लागि बाहिरिएकोमा चालु आर्थिक वर्षको यो अवधिमा १ लाख ६८ हजार नेपाली वैदेशिक रोजगारीको लागि बाहिरिएका छन्।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार धेरै नेपालीले रुचाएको मलेसियामा जाने कामदारको संख्या बढेपनि समग्रमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा गिरावट आएको छ।

गत वर्ष पहिलो ६ महिनामा मलेसिया जाने कामदारको संख्या ३९ हजार रहेकोमा यो वर्ष ५९ हजार पुगेको छ। गत वर्ष सबैभन्दा धेरै नेपाली वैदेशिक रोजगारीमा गएको कतारमा भने यो वर्ष उल्लेख्य गिरावट आएको छ। गत वर्ष ५९ हजार नेपाली पहिलो ६ महिनामा कतार गएकोमा यो वर्ष ४५ हजार नेपाली मात्रै कतार गएका छन्।

त्यसैगरि गत वर्ष पहिलो ६ महिनामा ४३ हजार नेपाली वैदेशिक रोजगारीको लागि गएको साउदी अरवमा यो वर्ष भने २२ हजार नेपाली मात्रै वैदेशिक रोजगारीको लागि साउदी अरब गएका छन्।

साउदी अरबसहित ९ देशले कतारमाथि आर्थिक नाकाबन्दी लगाएपछि कतार र साउदी अरबसहित खाडी मुलुकमा नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा पनि गिरावट आएको छ। साउदी अरबले नेतृत्व गरेको समूहले गत जुनबाट कतारमाथि नाकाबन्दी लगाएका छन्।

साउदी अरब जाने नेपालीको संख्यामा ५० प्रतिशतलेनै गिरावट आउँदा, युनाइटेड अरब इमिरेट्स (युएई) जाने नेपालीको संख्यामा भने बृद्धि भएको छ। गत वर्ष पहिलो ६ महिनामा २० हजार नेपाली युएई गएकोमा यो वर्ष २६ हजार नेपाली कामदार युएई गएका छन्।

गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनात्मक विवरण

देश २०७३ साउन-पुस २०७४ साउन-पुस
मलेसिया ३९३४२ ५८६५९
कतार ५९१२२ ४५११५
साउदी अरब ४३५६६ २२३५५
युएई २०८२२ २६८१८
अन्य १२०९९ १५२४३
जम्मा १७४९५१ १६८१९०

Leave a Reply

Your email address will not be published. Required fields are marked *