‘असम्भव भन्ने कुरा केही पनि छैन’

983387_543031742479515_1382123316_n

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदिपजंग पाण्डे नेपाली अर्थतन्त्रका लागि एक निकै सक्रिय व्यक्ति हुनुहुन्छ । लामो समयदेखि देशको अर्थतन्त्रलाई नजिकबाट नियाल्दै यहाँको माटोमा जडीबुटी र औषधि उत्पादनमा लाग्दै आउनु भएका पाण्डे विशेषगरी नेपालको कृषि, पर्यटन र हाइड्रोलाई अघि बढाउन सके देश निकै समृद्ध हुने बताउनुहुन्छ । आर्थिक नीतिको सवलिकरण र राजनीतिक प्रतिवद्धता हुने हो भने देशले छिट्टै आर्थिक फड्को मार्न सक्ने उहाँको भनाई छ । नेपालको राजनीतिलाई हाँक्नेहरुले आर्थिक मुद्धालाई प्रमुख स्थान दिन नसक्दा आर्थिक रुपबाट मुलुक पछाडि परेको बताउनुहुने उहाँ नेपाल भित्रका सम्भावनालाई उठान गर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल सरकार र राजनीतिक दलहरु एकै ठाउँमा उभिन सके मात्रै आर्थिक समृद्धि सम्भव छ भन्नुहुन्छ । पत्रकार माधव निर्दोषले गर्नु भएको विजनेस अन्तर्वाता यहाँ प्रस्तुत गरिन्छ । 

यति धेरै परिवर्तनहरु भए तर आर्थिक रुपमा हामी किन समृद्ध भएनौ ? 

राजनीतिक कुराहरु धेरै भए, परिवर्तनहरु पनि भए । तर आर्थिक परिवर्तनका लागि राजनीतिक अस्थीरता नै मुख्य बाधकको रुपमा उभियो । राजनीतिक अस्थिरता भन्नु लगानीको अस्थिरता हो र लगानीको अस्थिरता भन्नु नै आर्थिक अस्थिरता हो । जव आर्थिक स्थिति कमजोर हुन्छ त्यति बेला राज्यले दिने सहयोग या निजी क्षेत्रले गर्ने कामहरु कमजोर भएर जान्छन् । अहिलेको समग्र आर्थिक अबस्था यही हो । तर, यो अबस्थामा पनि नेपालीको सहनशीलताका कारण र जति सुकै अफ्ठ्यारोमा पनि धैर्य गर्ने क्षमताका कारण आशाका धेरै किरणहरु हामीले पर्खिरहेका छौं । त्यो कुरा यहाँका लगानीकर्ता र उद्यमीहरुले पनि भोगेका छन् । बारम्बार नीजि क्षेत्रले राज्य र दलहरुलाई अनुरोध गर्दै जाँदा राजनीतिक दलहरुले केही मात्रामा आफूहरुलाई सुधार गरेका छन् । पर्यटनको विकास, ३ बर्ष भित्र लोर्डसेर्डीङ मुक्त राज्य घोषणा गर्ने, बन्द हड्ताल नगर्ने जस्ता कुरामा राजनजीतिक दलहरुले आफ्ना घोषणापत्रमा उल्लेख गर्नु एउटा सकारात्कम कुरा हो । अहिलेको अबस्थामा सरकारमा जो जो आउनु भएको छ, उहाँहरुले या सरकारमा नआएका दलले पनि आफ्ना यी राजनीतिक घोषणपत्रमा उल्लेख गरेका प्रतिबद्धताहरुलाई कार्यान्वयन गर्नुपर्छ । यी कुराको कार्यान्वयन पक्षमा दलहरु र सरकार जुट्ने हो भने देश आर्थिक रुपबाट समृद्ध हुन समय लाग्दैन । 

नीजि क्षेत्र र सरकारबीच जे जति सुमधुर सम्बन्ध हुनु पर्ने हो त्यो देखिँदैन, के कारणले यस्तो भयो ? 

अहिले सम्मका सरकारहरु लामो समय रहेनन् । पहिलो संविधान सभाले दुई बर्षको म्याद लिएर आएको थियो, तर चार बर्ष लगाइयो, अन्ततः संविधान नै जारी नगरी संविधानसभा विघटन भयो । फलस्वरुप फेरि संविधानसभाकै कुरा अघि बढाउन पर्ने भयो र संविधानसभाको दोस्रो निर्वाचन सम्पन्न भयो । यो निर्वाचनमा राजनीतिक दलहरुले आर्थिक मुद्धालाई प्राथमिकताका साथ उठाएका छन् । हरेक दलको एजेण्डा बीस र उन्नाइस होलान् तर धेरै भिन्नता छैनन् । दलहरुका आर्थिक र विकासका एजेण्डालाई साझा एजेण्डा बनाएर हाइड्रो पावरको तिव्रता, ठुला परियोजनाको काममा सक्रियता, व्यबसायीक कृषि जस्ता कुरामा एकमत भएर लाग्नु अबको आबश्यक्ता हो । हामीमा एउटा कुराको सधै नै अभाव भइरह्यो, त्यो कार्यान्वयन पक्षको अभाव हो । विकासका काममा प्राथमिकताका साथ तोकिएका कुराहरु अघि बढ्न सकेका छैनन् । राज्यमा भएको रकम लगानी गर्न पनि सकिएको छैन । जवसम्म हामीसँग भएका तघाराहरु खोल्न सकिँदैन तवसम्म हामी अघि बढ्न सक्दैनौं । भएका लगानीको सुरक्षा, प्रबद्धन गर्ने काम सरकारको हो । सुरक्षाको अभावमा नयाँ लगानी आउन सक्दैनन् भने भएकै लागानी समेत समस्यामा पर्ने गर्दछ । हामीसँग पैसाको अभाव पनि होइन, सम्भावनाको अभाव पनि छैन मात्रै राज्यले उचित नीतिहरु बनाएर कार्यान्वयन गर्न आबश्यक छ । एकातिर संविधान बनाउने पाटो बाँकी छ भने अर्कोतिर लगानीको वातावरण वनाएर अगाडि बढ्न बाँकी छ । अबको सरकारले यी कुरालाई प्राथमकता दिएर नीजि क्षेत्रलाई साथमा लिएर अघि बढाउन सक्यो भने मुलुक अघि बढ्छ ।

उसो भए यहाँ लगानीको अभाव मात्रै नभएर लगानीको निम्ति वातावरणको अभाव देखियो  

निश्चय पनि हामीसँग भएको लगानी प्रयाप्त हुँदैन त्यो वास्तविकता हो । तर अर्को कुरा के महत्वपूर्ण छ त भने जव हामीले समस्याहरुलाई हल गर्न सक्छौं तव मात्रै बाहीरी लगानी पनि भित्रिन्छ । हामीले लगानी ल्याउँछों भनेर मात्रै हुँदैन, जव लगानीकर्ताको सुरक्षा गर्न सकिन्छ, जव उत्पादन क्षेत्रलाई मजबुत बनाउन सकिन्छ र जव लगानीको राम्रो वातावरण मनाउन सकिन्छ त्यतिबेला हामीले नआइज भन्दा पनि लगानीकर्ताहरु आफै आउँछन् । यसर्थ लगानीको वातावरण महत्वपूर्ण हुन्छ । भइरहेको लगानी पनि चाहिन्छ, नयाँ परियोजना पनि चाहिन्छ र अर्को कुरा बाहिरका ठुला लगानी ल्याउन पनि पर्छ । भइरहेको लगानीले सबै ठाउँमा प्रयाप्त हुँदैन । उत्पादनमुखी ढंगले प्रतिश्प्रर्धाका आधारबाट अघि बढ्नु पर्छ । अनि नयाँ परियोजनाहरु खोज्दै जानुपर्छ । त्यसपछि अझ बढी अनुसन्धान गर्दै गाउँगाउँमा सम्भावनाहरु खोजेर लगानी बढाउँदै जाने हो । त्यसवेला बाहिरको लगानी नआइज भन्दा पनि आइरहन्छ, लगानीको अभाव हुँदैन । अहिले हामीसँग प्लेनको खाँचो छ, आन्तरिक उडानमा जे जतिले लगानी गर्नुभएको छ, त्यो राम्रै भएको छ । तर ठुला ठुला परियोजनाहरु ल्याउन बाँकी छ । हाइड्रो पावरको कुरा, हस्पीटलको कुरा पर्यटन क्षेत्रको कुरा कृषिलाई व्यबसायीक बनाउने कुरा यी सबै कुरा महत्वपूर्ण हुन्छन् । सबै क्षेत्रमा सम्भावनाहरु प्रसस्तै छन् । यी सम्भावनालाई कार्यान्वयन गर्न सक्नु पर्छ । 

सरकार भन्सारमुखी र व्यवसायीहरु ट्रेड व्यबसायमुखी भइरहेको बर्तमान अबस्थामा तपाईले भनेका कुरा पुरा गर्न सम्भव होला ? 

हेर्नुस् संसारमा असम्भव भन्ने कुरा केही पनि छैन । पहिलो कुरा समस्या पत्ता लगाउनु पर्छ । घाउ लागेको भए व्याण्डीङ गर्नुपर्ला, ज्वरो आएको छ भने त्यही किसीमको औषधि गर्नुपर्ला । पहिला त रोग पत्ता लगाउन सक्नु पर्छ, अनि मात्रै उपचार गर्ने कुरा हुन्छ । आज नेपालको अर्थतन्त्र पनि बिरामी परेको छ । तर हाम्रा समस्याहरु हाम्रा रोगहरु नै हुन् जो धेरै छन् । लोर्डसेडिङ, उचित व्यबसायीक नीतिको अभाव, लगानी मैत्री वातावरणको अभाव, लगानीको लागि नभई नहुने विधिको शाासनको अभाव, लगानी बढाउने किसिमका नीतिहरुको अभाव, बढी लगानीका लागि लगानीको अभाव जस्ता कुरा हाम्रा रोगहरु हुन् । हाइड्रो पावरको क्षेत्रमा यति धेरै सम्भावना छ तर यहाँ विजुली नहुँदा साना साना कामहरु समेत रोकिएका छन् भने ठुला ठुला कामको कुरै गर्न परेन । पहिलो कुरा हाइड्रोपावरका लागि सक्रिय हुनु पर्छ । भइरहेका परियोजनाहरु अघि बढाउनु पर्छ । आज जेनेरेटर, इन्भटर जस्ता कुरामा मात्रै अर्बौं रुपैयाँ खर्च भएको छ । डिजल किन्नुपर्दा आयल निगम घाटामा गइरहेको छ भने देशको पुँजी बाहीर गएको छ । त्यो सबै पैसा हाइड्रोमा लगानी गर्ने र त्यसलाई अघि बढाउने हो भने समस्या विस्तारै समाधान हुँदै जान्छ । यसर्थ पहिलो चरणमै काम सुरु गर्नका लागि हाइड्रोबाट सुरु गर्नु पर्छ । 

1474009_543031312479558_782098619_n

यो सबै काम अहिलेको सरकारले गर्न सक्छ भन्नेमा कत्तिको विश्वस्त हुन सकिएला ? 

नसक्ने भन्ने कुरा होइन । तर खास कुरा पद्धति र गतिको हो । हामी विकास निर्माणको कुरामा र उत्पादनको कुरामा पछाडि फर्किएको अबस्था छ । हाम्रा, उत्पादन हाम्रा रोजगार आदिको अबस्था व्यापार घाटाले देखाएको छ । एउटै कुरा उत्पादनको बढवा र निर्यातको कुरा हो । यतिका समयसम्म त हामीले कुरेका छौं भने निर्वाचन सम्पन्न भएर एक वर्षभित्र संविधान जारी गर्दछौं भनेको अबस्थामा नकुर्ने भन्ने कुरा हुँदैन । मात्रै कुरा के हो भने अब हामी पछाडि फर्कने र थप गरीवी हुने हुनु हुँदैन । जहिले पनि सुरक्षा नहुने, काम नपाउने, मानिस बाहिर जानुपर्ने, यत्तिका सम्भावना भएको देश आश्चर्य लाग्न थालेको छ । सेतो सुन पानी बगेर बाहिर गइरहेको छ, हामी अन्धकारमा बाँचेका छौं यो जस्तो विडम्बना अरु के हुन सक्छ ? यसर्थ सम्भावनालाई व्यबहारमा ल्याउन अघि सर्नै पर्छ । सरकारले त्यसका लागि पहल गर्नै पर्छ ।

प्रशंग उद्योग वाणिज्य महासंघतर्फ मोडौं । नेपाल उद्योग बाणिज्य महासंघले देशमा आर्थिक परिवर्तनका लागि के ग¥यो ? 

महासंघको संरचना ७५ जिल्लामा पुगेको छ । हाम्रो मुख्य आधार जिल्ला उद्योग वाणिज्य संघ हो । जिल्ला बलियो भएन भने हामी बलियो हुँदैनौं । जिल्ला उद्योग भनेको साना तिना उद्योग नै हो । सम्बन्धित उद्योण बाणिज्य संघ संघले बलियो र सक्षम हुनुपर्छ साना उदोगलाई, कुना काप्चासम्मका उद्योगलाई हामीले साथमा लिएका छौं । दार्चुलाको उत्पादन र ताप्लेजुङको उत्पादन फरक हुन्छ । त्यसको विकासका लागि त्यही ठाउँको सक्रियता आबश्यक हुन्छ । त्यहाको वातावरणमा भएका सम्भावनाहरुको पहिचान गर्ने काम पनि हाम्रो हो र राष्ट्रिय स्तरका उद्योगलाई पनि अघि बढाउने काम हाम्रो हो । यो काममा नेपाल उद्योगा वाणिज्य महासंघ लागिपरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ

धनाढ्यहरुको मात्रै संस्था भयो, साना उद्योगीको भएन भन्ने गुनासा सुन्नुभएको छ कि छैन ? 

गुनासाहरु होलान् र हुन्छन् पनि, तर कुरा के हो भने लगानीको लागि पनि त लगानीकर्ताहरु त आबश्यक हुन्छ नि । यसकारण साना ठुला भन्ने कुरा हुँदैन उद्योगा वाणिज्य महासंघ जिल्ला जिल्लामा भएका जिल्ला उद्योगा वाणिज्य संघहरुको सहकार्यमा भएका कारण त्यसो भन्न मिल्दैन । नेपाल भित्र र अन्तराष्ट्रिय स्तरमा रहेको लगानी यहाँ ल्याउनका लागि पनि हामी लागिरहेका छौं । नेपाल उद्योग वाणिज्य महासंघले देशभित्र कहाँ कस्ता उद्योग खोल्ने भन्ने बारेमा आवाज उठाउनु पर्ने, तर विदेशी संघसंस्थाहरुसँग मात्रै

सम्बन्ध बढाउने काम मात्रै भएको छ भनिन्छ त ? 

हेर्नुस मैले मेरा कुरा कुरा गर्ने हो । कतिपय कुराहरु त्यसरी सबै पुरा भएको छ भनेर मैले भन्दिन । महासंघले प्रयासहरु गरीरहेको छ, कि देशको समृद्धिका लागि यहाँ लगानी मैत्री वातावरणको लागि, यहाँको आर्थिक समृद्धिका लागि महासंघ बोलिरहेको छ । 


तपाईले महासंघमा नेतृत्व गर्नुभयो भने उत्पादन क्षेत्रका लागि कसरी लड्नुहुन्छ ? 

नेपालको आर्थिक अबस्थाका बारेमा मैले अघि पनि भनिसकेको छु, कि मैले मात्रै गरेर वा कुनै एक व्यक्तिले मात्रै गरेर हुँदैन, सबै सहयात्रीहरु सबै व्यक्तिहरु, राजनीतिक दलका नेताहरु सबै व्यबसायीहरु मिलेर अघि बढेको खण्डमा त्यो सम्भव छ । किन भने नेपालमा जति धेरै सम्भावना भएको अरु कुनै क्षेत्र नहोला । यहाँको पर्यटन, व्यबसायीक कृषि र हाइड्रो जस्ता विषयले मात्रै पनि नेपाललाई समृद्ध बनाउँछ । यसर्थ उत्पादन र उद्योग संचालनतर्फ नै अघि बढ्न जरुरी छ । अब पनि हामीले यी विषयमा गम्भीर भएर नसोच्ने हो भने हामी आर्थिक रुपमा सफल हुन सक्दैनौं । 

के गरीयो भने आर्थिक रुपमा देश समृद्ध होला ? 

यहाँका समस्याहरु पहिचान भइसकेको अबस्था छ, यसर्थ अगाडि बढ्ने बाटो प्रसस्त भइसकेको अबस्थामा यहाँको ससानो लगानी, नयाँ परियोजनाहरु र वाहिरका लगानी यी तीनवटा विषयलाई अघि बढाउने हो भने हामी छोटो समयमै समृद्ध हुन सक्छौं । पहिलो सवाल भनेको भइरहेको लगानीलाई सुनिश्चितता गर्नु हो । दोस्रो कुरा नयाँ परियोजनाहरु बनाउने हो र तेस्रो कुरा विदेशी लगानी पनि भित्राउने हो । नेपाली अर्थतन्त्र अहिले बिरामाी परेको छ । नीति नियमहरु कार्यान्वयन भएका छैनन् । जतिसुकै मिठा कुरा गरिएपनि कार्यान्वयन पक्ष फितलो छ । अब जोडदारका साथ कार्यान्वयनको सवालमा केन्द्रीत हुन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *