कोकाकोलाको सोडाजन्य पेय विक्री १५ वर्षमा पहिलोपटक घट्यो

untitled-3_copy_1397719009न्यूयोर्क । सन् २०१४ को पहिलो त्रैमासमा कोकाकोलाको विश्वव्यापी सोेडाजन्य हल्का पेयको विक्रीमा उच्च कमी आएको छ । उक्त अवधिमा विश्वव्यापी सोडाजन्य पेय विक्री अघिल्लो त्रैमासको तुलनामा १ प्रतिशतले घटेको कम्पनीले सार्वजनिक गरेको एक प्रतिवेदनमा बताइएको छ । योे कमी १५ वर्षकै पहिलो रहेको प्रतिवेदनमा उल्लेख छ । यसअघि कोकाकोलाले उत्पादन गर्ने सोडाजन्य पेयको विक्री सन् १९९९ मा घटेको थियो । तर, कोकाकोलाद्वारा उत्पादित माइन्युट मेड, पावरेड र दसानीजस्ता सोडा नभएका नन कार्बोनेटेड पेय पदार्थको विक्रीमा भने उल्लेख्य वृद्घि भएको बताइएको छ । समग्रमा अघिल्लो त्रैमासमा १ प्रतिशतले बढेको सोडा भएका र नभएका दुवै प्रकारका हल्का पेयको विक्री सन् २०१४ को प्रथम त्रैमासमा भने २ प्रतिशतले बढेको छ । प्रायः वर्षको पहिलो त्रैमासमा पर्ने इसाईहरूको प्रमुख चाड इष्टर यो वर्ष भने दोस्रो त्रैमासमा परेकाले पनि सोडा विक्रीमा कमी आएको कम्पनीका बाहिरिँदै गरेका प्रमुख वित्तीय अधिकारी गेरी फायार्डले बताएका छन् । पछिल्लो समय कम्पनीले नन कार्बोनेटेड पेय पदार्थको विक्री बढाउनमा ध्यान केन्द्रित गरेकाले सोडा विक्रीले कमी बेहोरेको विश्लेषण गरिएको छ । त्यस्तै यो वर्षभरिको सोडा विक्रीले भने गति लिने फायार्डले अनुमान गरेका छन् । विकसित राष्ट्रमा सोडाजन्य पेय सेवनले तौल बढ्छ भन्ने उपभोक्तामाझ रहेको मानसिकताका कारण विगत ५ वर्षयता विक्रीले गति लिन नसकेको बजार विश्लेषकहरू बताउँछन् । कम्पनीको आधिकारिक तथ्याङ्कअनुसार यो वर्षको प्रथम त्रैमासमा कोकाकोलाको विक्री मात्रा उत्तर अमेरिका र यूरोपमा क्रमशः १ र ५ प्रतिशतले घटेको छ । उता मेक्सिकोमा पेय पदार्थ विक्रीमाथिको कर वृद्घि गरिएकाले पनि सोडाजन्य हल्का पेयको विक्री घटेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *