जापानी व्यापारघाटा ७० प्रतिशतले बढ्यो

2_1398144602टोकियो । गत आर्थिक वर्ष (२०१३ अप्रिल १–२०१४ मार्च ३१)मा जापानको व्यापारघाटा कीर्तिमानी उचाइमा पुगेको छ । सो अवधिमा व्यापारघाटा करीब ७० प्रतिशतले बढेर १३ दशमलव ७५ ट्रिलियन येनमा उक्लिएको अर्थ मन्त्रालयले बताएको छ । यससँगै जापानी व्यापारघाटा लगातार ३ वर्षमा पुगेकोे छ । गत वर्ष ऊर्जाको बढ्दो मूल्यका कारण निर्यातको गति खस्किएकाले व्यापारघाटा बढेको मन्त्रालयको भनाइ छ । गत आवमा जापानी निर्यात अघिल्लो वर्षको तुलनामा १० दशमलव ८ प्रतिशतले बढेर ७० दशमलव ८ ट्रिलियन येनमा उक्लिएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै सो अवधिमा आयात भने १७ दशमलव ३ प्रतिशतले बढेर ८४ दशमलव ६ ट्रिलियन येनमा उक्लिएको तथ्याङ्क आएको छ । जापानी व्यापारघाटाको प्रारम्भिक तथ्याङ्कअनुुसार मार्चमा व्यापारघाटा १ दशमलव ४५ ट्रिलियन येन रहेको थियो । यससँगै व्यापारघाटा लगातार २१औं महीनामा उक्लिएको पनि बताइएको छ । त्यस्तै सो अवधिमा निर्यातको वार्षिक वृद्घिदर १ दशमलव ८ प्रतिशतमा खुम्चिएको छ । अक्टोबरमा भने निर्यात वृद्घि १८ दशमलव ६ प्रतिशतको कीर्तिमानी उचाइमा पुगेको थियो । उता आयातको वृद्घिदर भने दोहोरो अङ्कमा रहेको छ । सन् २०११ को मार्चमा जापानको फुकुसिमा दाइइची आणविक केन्द्रमा भएको दुर्घटना कारण त्यहाँका अन्य आणविक केन्द्रहरू पनि सुरक्षाका कारणले बन्द गरिएका थिए । त्यसयता जापानको ऊर्जा आयात लागत वृद्घि हुने क्रममा रहेको छ । यद्यपि, अर्थतन्त्रमाथिको दबाब कम गर्न प्रधानमन्त्री सिञ्जो आबेले भने बन्द भएका केन्द्रमध्ये केहीलाई पुनः सञ्चालनमा ल्याउने योजना बनाइरहेको बताइएको छ । गत आवमा जापानको मध्यपूर्वी राष्ट्रसँगको व्यापारघाटा १८ प्रतिशतले बढेर १३ दशमलव ७ ट्रिलियन येनमा उक्लिएको छ । मध्यपूर्वी राष्ट्रसँगको व्यापारघाटाले जापानको कुल व्यापारघाटाको सबैभन्दा ठूलो अंश ओगटेको मन्त्रालयको दाबी छ । त्यस्तै गत आवमा जापानी मुद्रा येनको तीव्र अवमूल्यनका कारण आयात मूल्य बढेको विश्लेषण गरिएको छ । उता निर्यात वृद्घि भने अनुमान गरेभन्दा कम रहेको मन्त्रालयले बताएको छ । यद्यपि, आगामी महीनामा भने जापानको व्यापारघाटामा केही कमी आउने अनुमान गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *