जहाजविना पर्यटक आउँदैनन्

आङछिरिङ शेर्पा, अध्यक्ष नेपाल पर्वतारोहण संघ 
नेपालको पर्यटन क्षेत्र यति धेरै सम्भावना भएर पनि ओझेलमा परेको छ । सरकारले जहाज ल्याउन नसक्दा पर्यटकहरु आउने बाटै बन्द भएको छ । त्यससँगै सरकारी नीतिहरु परिवर्तन भएनन्, पर्यटनमैत्री वातावरण भएन,  दक्ष जनशक्तिको सधै अभाव भयो । यी कारणले नेपालको पर्यटन क्षेत्रमा चाहेर पनि सुधार भएन । जबसम्म दक्ष जनशक्ति हामीले उत्पादन गर्न सक्दैनौं, तबसम्म पर्वतीय पर्यटन व्यवसाय अगाडि बढ्न कठिन हुन्छ । त्यस कारण हाम्रो कार्य योजना भनेको दक्ष जनशक्ति उत्पादन गर्ने र पर्वतीय पर्यटकमा संलग्न श्रमिकहरुको आर्थिक, सामाजिक सुधारका लागि बिशेष पहल गर्ने हुनुपर्दछ । अर्को कुरा लाईफ इन्स्योरेन्सको व्यवस्था गर्न विभिन्न विमा संस्थाहरुसँग र नेपाल सरकारसँग पनि समन्वयन गर्नुपर्ने आवश्यकता रहेको छ । पर्वतीय पर्यटन भनेको धुवाँ रहित उद्योग–धन्दा चलाउनु हो । प्रसिद्ध हिमालहरु अहिले धेरै प्रदुषण भएका छन् । त्यस्ता प्रसिद्ध हिमालहरु सफा गर्ने योजना पनि हामीले अघि सारेका छौं । पर्वतारोहण संघ र नेपाल सरकारले पर्वतीय पर्यटन व्यवसायीलाई व्यवस्थापन गर्नको लागि ३३ वटा हिमाल दिएको छ र त्यसमध्ये प्रसिद्ध हिमालहरु हामीले लगातार रुपमा सफा गर्दैै जाने योजना बनाएका छौं । पर्यटन नीति पनि समय सापेक्ष सुधार हुनु पर्दछ भन्ने कुरालाई हामीले उठाएका छों । पर्यटन नीति धेरै अगाडि बनेको थियो जो प्रर्याप्त मात्रामा सुधार भैसकेको छैन ।

aang siring serpa

त्यसैले नेपाल सरकारलाई पर्यटकीय नीतिहरु परिवर्तन गर्न हामीले सुझावहरु दिएका छौं । अहिले हिमाल चढ्न आउने नयाँ पर्वतारोहीहरुको संख्या चाँडो–चाँडो बढीराखेको छ । अहिले नेपालमा के समस्या भयो भने नेपाल एयरलाइन्सलाई इन्स्योरेन्सले रोकेको छ । नेपाल एयरलाइन्स चढेर केही दुर्घटना भयो भने इन्स्योरेन्स नहुने प्रावधान छ । यसले गर्दा विशेष गरेर युरोपबाट आउने पर्यटकहरु हिचकिचाएका छन् । इन्स्योरेन्स नै खपत नहुने भएपछि स्वभाविक रुपमा हिचकिचाउने त भइहाल्छ । नेपालको पर्वतीय क्षेत्रमा प्लेनबाट जानुपर्ने बाध्यता भएको ठाउँमा अलिकती कमी आएको पनि छ । नेपालमा अरु बिदेशी एयरलाइन्स बन्द भईसकेको छ । नेपाल भन्दा अरु देश सक्षम भएपछि त्यस्ता थुप्रै बिदेशी एयरलाइन्सहरु नेपालबाट पलायन भए । जतिखेर नेपाल एयरलाइन्स सिधा इग्ल्याण्ड जान्थ्यो, सिधा लण्डनमा उडान हुन्थ्यो । त्यतिखेर झण्डै ४७ हजार ब्रिटीसहरु नेपाल आउँथे भने त्यो झरेर अहिले २७ –२८ हजारमा सिमीत भएको छ । त्यस्तै नेपाल एयरलाइन्स यहाँबाट सिधा जर्मनमा जान्थ्यो । त्यतिखेर ४९ हजार जर्मनी पर्यटकहरु नेपाल आउँदथे । नेपाल एयरलाइन्स नचलेपछि  त्यो झरेर २९–३० हजार हाराहारीको संख्यामा छ । त्यस्तै नेपाल एयरलाइन्स सिधा जापानको ओसाका जान्थ्यो । जापानी पर्यटकहरु ४७ हजारको संख्यामा आउँथे भने अहिले त्यो घटेर २२–२३ हजारमा मात्रै सीमित भएको छ । नेपाल एयरलाइन्स यहाँबाट सिधा फ्रान्सको पेरीस उठ्थ्यो ३३ हजार पेरीस पर्यटकहरु आउँथे भने अहिले २१–२२ हजारको हाराहारीमा मात्र आईराखेका छन् । राष्ट्रको ध्वजावाहकसँग मात्र बाहिरको मानीसहरु विश्वास गर्छ । किन भने त्यो राष्ट्रको ध्वजावाहक नाफा भए पनि, नोक्सान भए पनि नेपालबाटै उडेर नेपाल फर्किनु पर्छ भन्ने बिदेशीलाई महसुस भएको छ । जबसम्म नेपालको राष्ट्रवाहक ध्वजावहाक मजबुत हुदैन तबसम्म यहाँको पर्यटन क्षेत्रमा सुधार आउन  धेरै गाह्रो छ । अर्को कुरा पर्यटक बिरामी भयो भने त्यो ठाउँमा तुरुन्त औषधी उपचार व्यवस्था छ छैन । दुर्घटना भयो भने तुरुन्त ल्याउने व्यवस्था छ छैन । त्यो एरियामा सफा पानी, राम्रो ट्वाईलेट, राम्रो खानाको व्यवस्था छ कि छैन भन्ने कुरा पर्यटकको लागि महत्वपूर्ण हुन्छ । पर्वतीय पर्यटनका लागि तत्काल गर्नुपर्ने सबभन्दा महत्वपूर्ण काम नीति, नियम र पुर्वाधार नै हो । पर्यटक मैत्री नीति निर्माण, बाटोघाटो राम्रो हुनुका साथै पर्यटकीय क्षेत्रमा सहजीकरण भयोभने भने नेपालमा पर्यटकहरु प्रसस्त आउने सम्भावना छ, तर यी कुराहरुमा सुधार हुन जरुरी छ । (पत्रकार माधव निर्दोषसँगको कुराकानीमा आधारित) 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *