चार करोडको लागतमा नहर निर्माण सुरु

downloadविराटनगर । मोरङको उत्तरी टाँडी र मधुमल्लामा रहेको नुनसरी खोलाको पानी एकीकृत गरी खेती सिञ्चित गर्न रु चार करोडको लागतमा नयाँ पक्की नहर निर्माण भइरहेको छ । नुनसरी रचना कालीदह सिँचाइ जलउपभोक्ता समूहको विशेष पहलमा पूर्वाञ्चल सिँचाइ विकास डिभिजन नं २ सुनसरी इनरुवाद्वारा निर्माण भइरहेको उक्त पक्की नहरको लम्बाइ आठ किलोमिटर लामो रहेको छ । सिँचाइको अभावमा विभिन्न समस्या झेल्दै आएका मोरङको टाँडी तथा मधुमल्लाका ३०० घर परिवार सो नहरबाट लाभान्वित हुने छन् ।    उक्त सिँचाइ डिभिजनका इन्जिनियर मनोजकुमार साहका अनुसार निर्माण भइरहेको नहरको गहिराइ ६० सेमि र चौडाइ एक मिटर २० सेमि रहेको उक्त नहरको निर्माण थोदुगं कन्स्ट्रकन्सन प्रालिद्वारा भइरहेको छ । प्रथम चरणअन्तर्गत रु एक करोड ८९ लाखको लागतमा हालसम्म तीन किलोमिटर निर्माण भइसकेको र थप निर्माण कार्य अगाडि बढाएको इन्जिनियर साहले भन्नुभयो । यही २०७० कात्तिक महिनादेखि टाँडी–६ नुनसरी खोलाबाट मधुमल्ला–४ कालीदहसम्म निर्माण हुने उक्त नहरलाई सुरक्षित पार्न वक्राहा खोलामा साइफनसमेत निर्माण गरिने छ साथै पहाडी क्षेत्रबाट आएको अन्य सानो खोलाको पानी पनि सो उक्त नहरमा समावेश हुने बताइएको छ । यसैबीच नुनसरी रचना कालीदह सिँचाइ जल उपभोक्ता समूहको शुक्रबार बसेको बैठकले उक्त नहर निर्माणले टाँडीको पहाडी र खोला क्षेत्रमा हुने भूक्षय पनि नियन्त्रण हुने जनाएको छ । जलउपभोक्ता समूहका अध्यक्ष ओयाङ यातुम किराँतीले नहर निर्माणमा प्राविधि कारणले केही ढिलाइ भएको भन्दै प्रथम चरणको निर्माण कार्य असारको पहिलो हप्तामा सम्पन्न हुने तथा निर्माण कार्य गुणस्तरीय गर्न उपभोक्ता लागिपरेको बताउनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *