विश्व वास्फीकरणबाट हिमनदीको सङ्ख्यामा वृद्धि

khmitiललितपुर । विश्व वास्फीकरणले हिमनदीहरु पग्लिने क्रमसँगै यसको सङ्ख्यामा वृद्धि आएको एक अध्ययनले देखाएको छ । एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय अध्ययन केन्द्र (इसिमोड) र जल तथा मौसम विज्ञान विभागले संयुक्तरुपमा प्रकाशन गरेको नेपालमा हिमनदीहरुको स्थितिसम्बन्धी अध्ययनमा हिमनदीहरुको सङ्ख्यामा वृद्धि भए पनि यसले ओगटेको क्षेत्रफलमा भने कमी आएको बताइएको छ । सन् १९८० मा करिब तीन हजार ४३० को सङ्ख्यामा हिमनदी रहेको र त्यसले पाँच हजार १६८ वर्ग किमि क्षेत्रफल ओगटेकामा सन् २०१० मा आइपुग्दा हिमनदीको सङख्या बढेर तीन हजार ८०८ वटा र यसको क्षेत्रफल घटेर तीन हजार ९०२ वर्ग किमि रहेको अध्ययनमा उल्लेख छ । यसैगरी सन् १९८० मा ४४१.३६ क्युविक मिटर हिउँ रहेकामा चार दशकपछि घटेर ३१२.४ क्युविकमिटर हिउँले मात्र हिमनदीलाई ढाकेको देखिएको छ । इसिमोडमा आयोजित कार्यक्रममा अध्ययनकर्ता समज्वलरत्न बज्राचार्यले विश्वव्यापी तापक्रम विगत सय वर्षको अवधिमा ०.७४ डिग्री सेल्सियसका दरले वृद्धि भएको भए पनि हिमालय क्षेत्रमा १० वर्षको अवधिमा ०.१२ देखि ०.६३ डिग्री सेल्सियसका दरले वृद्धि भएको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय मञ्च (आइपिसिसी) को तथ्याङ्क रहेको उल्लेख गर्नुभयो ।    पुस्तकको सार्वजनिक गर्दै इसिमोडका महानिर्देशक डा डेभिड मोल्डेनले हिमनदीहरुको स्थितिका बारेमा गरिएको अध्ययनले यस विषयमा धेरै नयाँ तथ्यहरु प्राप्त भएको बताउनुभयो । सो अवसरमा जल तथा मौसमा विज्ञान विभागका महानिर्देशक डा ऋषिराम शर्माले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको प्रभाव बारेमा गरिएको अध्ययनबाट प्राप्त तथ्याङ्कका आधारमा नीति, कार्यक्रमहरु तर्जुमा गर्न सजिलो भएको उल्लेख गर्नुभयो । सो अध्ययन इसिमोडका समज्वलरत्न बज्राचार्य, सुदनविकास महर्जन, फिनु श्रेष्ठ तथा जल तथा मौसम विज्ञान विभागका ओमरत्न बज्राचार्य र सर्जु वैद्यले गर्नुभएको हो । 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *