राहदानी बनाउनुअघि नै परामर्श

imagescms-image-000002209कावासोती । वैदेशिक रोजगारमा जाने सपना बोकेका युवाहरुलाई राहदानी (पासपोर्ट )को सिफारिस अगाडि नै परामर्शको व्यवस्था गरिएको छ । राहदानी बनाउनका लागि प्रशासन पुगेका सेवाग्राहीलाई यस्तो व्यवस्था गरिएको हो ।  प्रशासन कार्यालयको नजिकै रहेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रबाट उनीहरुलाई पहिले नै वैदेशिक रोजगारका आधारभूत कुरा सिकाइन्छ । प्रशासन कार्यालयबाट फारम लिएर आउनेका लागि व्यक्तिगत परिचयपछि उनीहरुलाई वैदेशिक रोजगारको प्रक्रिया, अवस्था र चुनौतीका बारेमा जानकारी दिने काम परामर्श केन्द्रले गर्छ । सकेसम्म स्वदेशमै रोजगारी गरौँ यदि विदेश नै जाने भए सही सूचना अनि सीप लिएर जानुपर्छ भनेर पराशर्म केन्द्र सञ्चालनमा ल्याएको हिमालयन सामुदायिक विकास मञ्च (हिकोडेफ) की परामर्शदाता यमकुमारी रानाले जानकारी दिनुभयो । “दैनिक ४० देखि ५० जना युवायुवती परामर्श लिने आउने गर्छन् त्यसमा महिलाको सङ्ख्या पनि उल्लेखनीय रहेको छ”–उहाँले भन्नुभयो–“३० वर्षभन्दा कम उमेरका महिलाहरु घरेलु कामदारका लागि जान हुँदैन भन्ने कुरा बुझाउन कठिन छ ।” सबैभन्दा बढी १८ देखि ४५ वर्ष उमेरका युवाहरु वैदेशिक रोजगारीका लागि जाने गरेका छन् । नवलपरासी जिल्ला वैदेशिक रोजगारीका लागि जाने जिल्लामा उच्च सोह्रौँ जिल्लामध्ये पर्छ । दैनिक २०० जनाले जिल्ला प्रशासन कार्यालयबाट राहदानी लिने गरेका छन् । “परामर्श लिएको थाहा नभएसम्म राहदानीको सिफारिस नहुने भएकाले सिफारिस लिन प्रशासनमा आउनेले अनिवार्य परामर्श लिन्छन्”–इलाका प्रशासन कार्यालय कावासोतीका प्रमुख चेतनारायण घिमिरेले भन्नुभयो–“परामर्शले कम्तीमा वैदेशिक रोजगारमा जानेहरु ठगिनबाट रोकिन्छन् ।” सिप तालिम, स्वास्थ्य परीक्षण, जीवन बीमा, अभिमुखीकरण तालिम, रसिद वा भरपाई, श्रमस्वीकृत, कागजपत्रको प्रतिलिपिको व्यवस्था पूरा गरी मात्र वैदेशिक रोजगारी जाँदा राम्रो हुने परामर्शमा बताइने गरेको कावासोतीका ओमबहादुर सारुले बताउनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *