सरकारी अनुदानको सौर्य ऊर्जाबाट १० हजार घर लाभान्वित

Alternative-energy1जनकपुरधाम । विद्युत्भार कटौतीको मार खेपिरहेका जनकपुरवासी सरकारी अनुदानको सौर्य ऊर्जा (सोलार) जडान गर्न आकर्षित हुन थालेका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रकोे स्वीकृतिमा जनकपुर नगरपालिकाले ‘नगर उज्यालो’ कार्यक्रमअन्तर्गत विद्युत्भार कटौतीको मार खेपिरहेका जनकपुरवासीका लागि १० हजार घरमा सौर्य ऊर्जा जडान गर्ने लक्ष्य लिएकामा हालसम्म ४०० जनाले निवेदन दिएका छन् । नगरक्षेत्रमा पाँच हजार थान २०० वाट र पाँच हजार थान १०० वाटका सौर्यऊर्जा उपकरण वितरण गर्ने लक्ष्य रहेको जिल्ला विकास समिति ऊर्जा तथा वातावरण एकाइ धनुषाका इन्जिनियर अजितकुमार झाले बताउनुभयो । सरकारले एकसय वाटभन्दा माथि र २०० वाटभन्दा तलको सौर्य ऊर्जा उपकरणमा पाँच हजार तथा २०० वाटको सोलार उपकरणमा आठ हजार अनुदान दिएपछि सौर्य ऊर्जा लिनेको सङ्ख्या बढ्दै गएको इन्जिनियर झा बताउनुहुन्छ । आगामी छ महिनाभित्र जनकपुर नगर क्षेत्रभित्रका १० हजार घरमा सौर्य ऊर्जा जडान गर्ने लक्ष्य लिएको ऊर्जा मन्त्रालयले घरायसी सौर्य ऊर्जाका लागि विद्युत् नपुगेका धनुषाको दुबरकोट, सिग्याही मडानलगायत छ वटा गाउँमा सौर्यऊर्जा जडान गर्न ७०० निवेदन परेको जनाएको छ । निवेदन परेको लामो समय भए पनि सोलार प्राप्त नभएपछि जनकपुरवासीमा सोलार पाउने नपाउनेबारे अन्यौलता उत्पन्न हुन थालेको अवस्थामा नगरपालिकाले एक साताभित्र सोलार दिने प्रतिबद्धता जनाएको छ । घरायसी सौर्य ऊर्जा कार्यक्रमअन्तर्गत धनुुषाको छवटा गाविसका जनतालाई नेपाल सरकारको ७५ प्रतिशत अनुदानमा सौर्य ऊर्जा दिन लागिएको हो । नेपालस्थित बायोग्यास कम्पनीहरूले मनोमानी ढङ्गबाट बढी रकम लिएर सौर्य ऊर्जाका उपकरण बिक्री गर्ने गरेकाले सरकारले अनुदानमा दिने सौर्य ऊर्जा उपकरण भारतबाट ल्याउन दिनुपर्ने माग जनकपुरवासीको छ । सोलार जडान भएपछि यस क्षेत्रमा विद्युत् भार कटौतीमा कमी आउने, जलवायु परिवर्तनको समस्या हट्ने, वातावरण स्वच्छ र सफा हुने विश्वास विज्ञहरूको छ । बजारको भन्दा सस्ता र २५ वर्षसम्म आयु रहने भएकाले सोलार लिनेको सङ्ख्या बढ्दै गएको जनकपुरवासीको भनाइ रहेको छ । सोलार लिनेको माग अत्यधिक भए पनि नगरपालिकाले सबै कर चुक्ता गरेको र नक्सा पास गराई घर बनाएका मानिसको मात्र माग स्वीकृति गर्ने गरेको छ । जनकपुरमा चाँडै सौर्य ऊर्जा जडान गर्न जिल्ला विकास समिति जोडतोडले लागिपरेको धनुषाका स्थानीय विकास अधिकारी गुरुप्रसाद सुवेदी बताउनुहुन्छ । जलविद्युत् सडक सिँचाइ जस्ता पूर्वाधारबाट वञ्चित रहेका यस क्षेत्रमा सोलार जडान गर्ने काम सुरु भएपछि नगरवासीमा उत्साह र जाँगर आएको छ । सरकारले घनाबस्ती भएका ठाउँमा यो कार्यक्रम ल्याउँदा अझ प्रभावकारी हुने विज्ञहरूको भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *