खाद्य क्वारेन्टाइन तथा गुणस्तर प्रविधिसम्बन्धी प्रशिक्षण

imagesवीरगन्ज । निर्यातजन्य खाद्य उद्योगको प्रवद्र्धनका लागि खाद्य क्वारेन्टाइन तथा गुणस्तर प्रविधिसम्बन्धी जानकारी गराउने उद्देश्यले ‘सेनेटरी एन्ड फाइटोसेनेटरी (एसपिएस)’ सम्बन्धी चार दिवसीय प्रशिक्षण कार्यक्रम बुधबारदेखि सुरुभयो । वीरगन्ज उद्योग वाणिज्य सङ्घको सहकार्यमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा आयोजित कार्यक्रममा आयातनिर्यात गर्दा बिरुवा र बिरुवाजन्य, पशुपक्षी र पशुपक्षीजन्य तथा खाद्य क्वारेन्टाइनका विद्यमान ऐनकानुन, प्रक्रिया तथा गुणस्तर र प्रविधिका प्रक्रियालगायतका विषयमा प्रशिक्षण दिइने वीरगन्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ । कार्यक्रममा वीरगन्ज पथलैया औद्योगिक कोरिडोरमा स्थापित दाल, तेल, मह, जुसलगायत उद्योगका करिब २० जना प्रतिनिधिको सहभागिता रहेको छ । सो अवसरमा सङ्घका वरिष्ठ उपाध्यक्ष प्रदीप केडियाले प्लान्ट, पशु र खाद्य क्वारेन्टाइनमा देखिएका विद्यमान समस्या, चुनौती र समाधानका उपायका विविध पक्षमाथि प्रकाश पार्दै प्रशिक्षणबाट निर्यातमुखी उद्योगहरूलाई अन्तर्राष्ट्रियस्तरको क्वारेन्टाइन तथा गुणस्तरको प्रविधिसम्बन्धी जानकारी गराई उद्योग व्यापारको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत तथा प्रशिक्षक मोहनकृष्ण महर्जन र नवराज दाहालले निर्यातजन्य उद्योगको प्रवद्र्धनका लागि प्लान्ट, पशु तथा खाद्य क्वारेन्टाइन र गुणस्तर प्रविधिसम्बन्धी विद्यमान प्रक्रियाबारे जानकारी गराउनेतर्फ प्रशिक्षण केन्द्रित रहेको बताउनुभयो । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका कार्यालयप्रमुख वेदनाथ गौतमले प्रशिक्षणकै अवधिमा सहभागीहरूलाई क्वारेन्टाइनबारे विस्तृत जानकारी प्रदान गर्न क्वारेन्टाइन कार्यालय तथा आइएसओ प्रमाणित उद्योगहरूमा स्थलगत अवलोकन गराउने कार्यक्रम रहेको जानकारी दिनुभयो । कार्यक्रममा खाद्य क्वारेन्टाइन प्रयोगशाला, वीरगन्जका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विजय खनाल, वीरगन्ज उपमहानगरपालिका खाद्य प्रयोगशालाका खाद्य अनुसन्धान अधिकृत विपिन कुमारलाल दास, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका खाद्य अनुसन्धान अधिकृत राजकुमार रिजाललगायतले क्वारेन्टाइन तथा गुणस्तर प्रक्रियाका विविध पक्षमाथि प्रकाश पार्नुभएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *