ठेकेदारको लापरबाहीले भवन निर्माण अलपत्र

download (1)काँकडभिट्टा । ठेकेदारको लापरबाहीका कारण झापाको बलभद्र जनता उच्चमाध्यमिक विद्यालय धाइजनको निर्माणाधीन भवन अलपत्र परेको छ । पन्ध महिनाभित्र निर्माण कार्य पूरा गर्ने सर्तनामासहित विसं २०६९ मै ठेक्का दिइएको थियो तर निर्धारित समयभन्दा धेरै समय बितिसक्दासम्म भवन निर्माणको काम २० प्रतिशत पनि पूरा भएको छैन । भारतीय दूतावासको सहयोगमा जिल्ला विकास समिति झापाले दुई तलाको २४ कोठाको भवन र खोला किनारैमा रहेको विद्यालय जोगाउन तटबन्धनका लागिसमेत गरी रु दुई करोड ६६ लाख दिएको थियो । निर्माणको ठेक्का पाएको राजधानीको तुलसीभक्त निर्माण सेवाको लापरबाहीले काम अघि नबढेको सरोकारवालाले बताएका छन् । पन्ध्र महिनामा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि समयमा काम नहुँदा पछि फेरि ६ महिनाका लागि समय थपिएको थियो । त्यसको पनि म्याद असारमा सकिँदैछ तर भवन निर्माण ज्यादै सुस्त छ । निर्माण सेवाका निर्देशक नवराज श्रेष्ठले भवन निर्माण गर्न झापाका निर्माण व्यवसायी पूर्णबहादुर तामाङ (समीर)लाई एक वर्षको अख्तियारी दिएको बताउनुभयो । तामाङले एक वर्षमा नसकेपछि निर्माण सम्पन्न गर्न चिरनसिंह थापालाई अख्तियारी दिएको जिविस स्रोतले जनाएको छ । अहिलेसम्म विद्यालयको एक तलाको कोठा र छतसमेत निर्माण भइनसकेको प्रधानाध्यापक  हनुमान नेपालले बताउनुभयो । “जेठ लाग्यो असारसम्ममा पूर्ण रूपमा भवन सकिँदैन”–उहाँले भन्नुभयो–“बर्सेनि बर्खायाममा विद्यालय हडिया खोलाको जोखिममा पर्ने गरेको छ ।” कम्पनीले पहिलो किस्ता र दोस्रो किस्ता गरी रु एक करोड एक लाख जिविसबाट भुक्तानी लगिसकेको छ तर भवन अधुरो हुँदा विद्यालयका ७५० जना विद्यार्थीलाई पठनपाठनमा समस्या भएको छ । व्यवस्थापन समितिका अध्यक्ष कविलाल मेचेले भन्नुभयो–“पुरानो भवन भत्काएर बनाउन थालेपछि विद्यालय परिसरमा मुस्किलले पढाउँदैछौँ ।”जिविसले काम पूरा गर्न ठेकेदारलाई दबाब दिइरहेको जनाएको छ । जिविसका योजना अधिकृत रुद्र न्यौपाने भन्नुहुन्छ–“ठेकेदारको लापरबाहीले त्यस्तो भएको हो । हामीले उनीहरूलाई स्पष्टीकरण सोध्यौँ, कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेका छौँ ।” 

Leave a Reply

Your email address will not be published. Required fields are marked *