कान्तिपुर मिडिया ग्रुप (केएमजी) ले विवादस्पद व्यवसायी अजेयराज सुमार्गीविरुद्ध राज्यका निकायबाट भइरहेका छानवीनहरु राजनीतिक दवावमा रोकिनु नहुने बताएको छ। मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै कान्तिपुरले यसअघि सुमार्गीले लगाएका आक्षेपहरु पुष्टि गर्न समेत चुनौती दिएको छ।
राजनीतिक नेतृत्वको संरक्षण र साँठगाँठमा आर्थिक अनियमितताको पिरामिड खडा गर्ने विचौलियाहरुको रिपोर्टिङ गर्ने क्रममा सुमार्गीका शंकास्पद कारोबारहरु समाचारको विषय बनेको कान्तिपुरले उल्लेख गरेको छ।
‘पछिल्लो समय राजनीतिक नेतृत्वको संरक्षण र साँठगाँठमा आर्थिक अनियमितताको पिरामिड खडा गर्ने बिचौलियाहरूको बिगबिगीबारे हामीले शृंखलाबद्ध रिपोर्टिङहरू छापिरहेका छौं। शंकास्पद आर्थिक कारोबारमा मुछिएका अजेयराज सुमार्गी पनि त्यही सिलसिलामा समाचारको विषय बनेका हुन्’, विज्ञप्तिमा भनिएको छ।
कान्तिपुर र अन्य पत्रपत्रिकाले समेत उनीबारे मुख्यतस् तीनवटा आधारमा खोजबिन गरेको विज्ञप्तिमा उल्लेख छ। पहिलो: केही वर्षअघि सामान्य आर्थिक हैसियत भएका व्यक्तिले एउटा राजनीतिक समूह विशेषसँगको सान्निध्यमा अस्वाभाविकरूपमा फैलाएको आर्थिक साम्राज्य, जसको स्रोत खुलेको छैन। दोस्रो: जसको करिब साढे ३ अर्ब रुपैयाँलाई नेपाल राष्ट्र बैंकले ‘शंकास्पद’ ठहर गर्दै तीन वर्षदेखि दुइटा बैंकहरूमै ‘सिल’ गरिदिएको छ। सुमार्गीले त्यसअघि ल्याएको करिब साढे ८ अर्बलाई पनि राष्ट्र बैंकले शंकास्पद मान्दै ती सबै रकमको स्रोत छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई लेखिपठाएको छ। तेस्रो: शुद्धीकरण विभागले प्रहरीको सीआईबीसित मिलेर तयार पारेको अध्ययन प्रतिवेदनमा उनको रकमलाई ‘अवैध’ ठहर गरिएको छ।
देशभित्रबाट अनियमितता–सिर्जित कालो धन विदेश पुर्याउने, त्यसलाई ‘सेल कम्पनी’ मार्फत ‘विदेशी लगानी’ भन्दै ल्याउने र यहाँ ‘सेतो धन’ बनाएर फेरि विदेशतिरै फर्काउने ‘मनी लन्डरिङ’ को जुन सिलसिला चलिरहेको छ, त्यो रोकिनु पर्ने कान्तिपुरले उल्लेख गरेको छ।
‘सरकारी निकायहरूले ‘अवैध’ ठहर गरेको कारोबार एवम् रकम ‘वैध’ रहेको ठहर गर्ने र त्यसको कानुनी स्रोत खुलाउने जिम्मेवारी अब सुमार्गीको हो’, कान्तिपुरले भनेको छ, ‘उनले त्यसो गर्नुको साटो आफ्नो अवैध आर्थिक कारोबारबारे समाचार लेख्ने सञ्चारगृहविरुद्ध गरेको विषबमनको हामी घोर भत्र्सना गर्दछौं। उनले मुख्य मुद्दाबाट ध्यान मोड्न कान्तिपुरविरुद्ध सोमबार जे–जस्ता गम्भीर आक्षेप लगाएका छन्, ती सबैलाई एक–एक गर्दै पुष्टि गर्न हामी चुनौती दिन्छौं।’
समाचार प्रकाशन गरेकै कारण कहिले ज्यान मार्न खोजेको उजुरी दिने र कपोलकल्पित आरोपहरू लगाएर चरित्रहत्या गर्न खोज्ने सुमार्गी–प्रवृत्ति सजायको भागिदार हुनुपर्ने कान्तिपुरको विज्ञप्तिमा उल्लेख छ।
कान्तिपुर समूहका अध्यक्ष सिरोहियाले आफूमाथि सांघातिक हमलाको धम्की दिएको भन्दै सुमार्गीले पुस ११ गते सुरक्षा माग गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए। सिरोहियाबाट खरिद गरेको तीनकुने स्थित ५ रोपनी ४ आना जग्गा एक वर्षपछि सिरोहियाले पुरानै मूल्यमा फिर्ता मागिरहेको गम्भीर आरोप सुमार्गीले लगाएका थिए। त्यस यता दुइ पक्षबीच जुहारी जारी छ। सुमार्गीले सोमबार पत्रकार सम्मेलन गर्दै कान्तिपुरलाइ नजराना नचढाइ व्यवसाय गर्न नसकिने गम्भीर स्थिति रहेको आरोप लगाएका थिए। त्यसको जवाफ दिँदै मंगलबार कान्तिपुरले विज्ञप्ति जारी गरेको हो।