सरकारी कारोबारमा अब विद्युतीय भुक्तानी, घरमै बसेर कर तिर्ने सुविधा

सरकारी कारोबारमा विद्युतीय भुक्तानी प्रणालीको शुरूवात भएको छ । बुधबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय भुक्तानी प्रणलीको उद्घाटन गरे । यो प्रणाली नेपालमा पहिलो पटक सुरु भएको छ ।

तत्कालका लागि करदाता सेवा कार्यालय ठमेलमा विद्युतीय भुक्तानी प्रणालीको सुरुवात गरिएको अर्थमन्त्री डा. खतिवडाले बताए । आगामी आर्थिक वर्षको सुरुवातदेखि भने पूर्ण रुपमा नै विद्युतीय भुक्तानी कारोबार गरिने उनले बताए । हालका लागि करदाताले एक लाख रुपैयाँसम्मको कर यो प्रणालीबाट तिर्न सक्नेछन् ।

यस प्रणालीको प्रयोगबाट करदाताले घरमै बसीबसी राजश्व तिर्न सक्नेछन् । करदाताले सरकारलाई बुझाउनुपर्ने सबै प्रकारका कर, शूल्क वा दस्तुर उक्त विद्युतीय प्रणालीबाट बुझाउन सक्नेछन् । करदाताले नेपाल क्लियरिङ हाउस लिमिटेडले सञ्चालनमा ल्याएको कनेक्ट आईपिएस रजिष्टर गरी भुक्तानी गर्न सक्नेछन् । उक्त प्रणालीबाट कारोबार गर्दा कुनै शूल्क लाग्दैन । यो प्रणालीमा ‘रियल टाइम’ कारोबार हुने, जुनसुकै बैंकबाट पनि राजश्व बुझाउन सकिने, अरुकै खाताबाट पनि राजश्व भुक्तानी गर्न सकिने लगायतका सुविधाहरु रहेका छन् ।

सरकारले विद्युतीय भुक्तानी प्रणालीलाई २०६५ वैशाख १५ मा नै सैद्धान्तिक रुपमा स्वीकार गरिसकेको थियो । । अर्थमन्त्री युवराज खतिवडाले आफ्नो नियुक्तीको पहिलो निर्णय नै १ वैशाखदेखि खर्च तथा राजश्वतर्फको सबै भुक्तानी विद्युतीय प्रणालीबाट गर्ने निर्णय गरेका थिए । यो व्यवस्था कार्यान्वयनका लागि मन्त्रालयले कार्यदल नै गठन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *