‘बैंकसँग प्रतिष्पर्धा गर्न फाइनान्स कम्पनी सक्षम छन्’

गुडविल फाइनान्स कम्पनी नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त वित्तीय संस्था हो । गुडविल नेपालको पुरानो र अव्वल फाइनान्स कम्पनीहरु मध्येको एक हो । गुडविलले पछिल्लो समय बचत तथा लगानीमा आकर्षण गर्ने साथै वित्तीय चेतना बढाउने अभिप्रायले ‘आइएम एमबिए’ नामक अभियान सञ्चालन गरिरहेको छ । कम्पनीको उक्त अभियान र मुलुकमा सञ्चालित फाइनान्स कम्पनीहरुको अवस्थाका बारेमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत एवं वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरसँग बैंकिङ खबर डट कमले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छः 

‘आइएम एमबीए’ अभियानले अहिले के गर्दैछ ?
हामीले संचालन गरिरहेको ‘आइएम एमबीए’ नामक अभियान समग्र बैंक तथा वित्तीय संस्थाले चलाउनु पर्ने अभियान हो । आइएम एमबीएले अहिले के गर्दैछ भन्ने कुरा बुझ्नु भन्दा पहिले आइएम एमबीए के हो भन्ने कुरा बुझ्न आवश्यक छ । आईएम एमबीएको पुरा रुप भनेको ‘मास्टर अफ बचत एण्ड आर्जन’  हो । वित्तीय साक्षरता वृद्धि गर्ने उद्देश्यले यो अभियान ल्याइएको हो । हामीले अभियान अन्तर्गत आइएम एमबीए नामक पुस्तक र एप सार्वजनिक गरिसक्यौ । हामीले विशेष गरेर विद्यार्थी र गृहणीलाई लक्षित गरेर यो अभियान ल्याएका हौं । वित्तीय चेतनाको कमीले कतिपय गृहणीहरुले पैसालाई सिरानी मुनि राखेका हुनसक्छन । सिरानीमुनि राखेको पैसाको भ्यालू घट्छ, अनि असुरक्षित पनि हुन्छ । त्यो रकमलाई वित्तीय संस्थासम्म लगेर बचत गर्ने हो भने सुरक्षित पनि हुन्छ र ब्याज पनि पाइन्छ । त्यो चेतना फैलाउनु हाम्रो उद्देश्य हो । हामी हाम्रो अभियानलाई प्रभावकारी बनाउछौं । 

आइएम एमबीए पुस्तक प्रकाशन गर्नुभयो, यसले वित्तीय चेतना बढाउन कत्तिको मद्दत गर्यो त ? 
यो अभियान शुरु गरेको धेरै भएको छैन । अहिले तत्काल नै रिजल्ट आइहाल्ने कुरा पनि होइन । हामीले भर्खरै ३/४ वटा कलेजमा यो अभियान लगेका छौं । अन्य १२/१३ वटा कलेज पनि पाइपलाइनमा छन् । हामी ति कलेजहरुमा पनि चाडै लादैछौं । अर्को तर्फ गृहणीहरुलाई वित्तीय चेतना बारे बुझाउन हामी काठमाडौं महानगरपालिकाका विभिन्न वडाहरुमा गइसकेका छौं । नयाँ ठाउँहरुमा पनि हामी जान्छौं । यो अभियान आज गरेर भोली नै रिजल्ट नआएर यसको क्रमशः प्रभाव बढ्दै जाने हो । फेरी हामीले यो अभियान सञ्चालन गरेर गुडविलमा खाता खोल्नुस, जम्मा गर्नुस भनेर मार्केटिङ गरेको होइन । हामीले बचतको बानि विकास गर्न खोजेका हौं । हामीले समग्र बैंक तथा वित्तीय संस्थाका लागि तथा सर्वसाधारण स्वयमका लागि समेत फाइदा पुगोस् भनेर यो अभियान चलाएका हौं । 

यो अभियान त समग्र बैंक वित्तीय संस्थाहरुका लागि आवश्यकता थियो, तर गुडविलले एक्लै किन यो अभियान सञ्चालनमा हात हाल्यो ? 
हामी बजारमा बसेको २२ वर्षभन्दा बढी भइसकेको छ । हामीलाई यसको आवश्यकता पहिलेदेखि नै खड्किरहेको थियो । हाम्रो नेपालमा एउटा के परिपाटी छ भने गैरसरकारी संस्थाहरु (एनजिओ), अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजीओ) हरुको सहयोगमा मात्रै सामाजिक सेवामा जानु पर्छ भन्ने मानसिकता छ । अन्य संघ संस्थाहरु पनि थिए यसका लागि काम गर्ने तर यो अभियान हामी एक्लैले गर्ने विचार गर्यौ । अरुको मुख नताकी हामी एक्लैले यो अभियानको शुरुवात गर्यौ । तर, यो अभियान गुडविल एक्लैका लागि भने होइन । यसर्थ मलाई के लाग्छ भने यो अभियानमा हातेमालो गर्न अन्य बैंक तथा वित्तीय संस्थाहरु पनि आउनु हुनेछ । 

वित्तीय संस्था संघको अध्यक्ष तपाई आफैँ हुनुहुन्छ, यत्तिको ठूलो अभियानमा संघलाई किन सामेल गराउनु भएन ? 
आफ्नो कम्पनीको फाइदा पहिलो प्राथमिकतामा राख्ने नेपालमा प्रचलन छ । आफूले काम शुरु नगरी अरुलाई यस्तो काम गरौ भन्नु भन्दा पहिले आफैले काम गर्नु पर्छ भन्ने लाग्यो । पहिले आफूले काम शुरु गरे पछि अरुलाई यस्तो कार्यक्रम हो, सँगै अघि बढौ भन्न सकिन्छ भनेर हामी एक्लैले शुरु गरेका हौं । 

वित्तीय चेतनाको कमी विशेष गरेर ग्रामिण भेगका जनताहरुमा छ, विकट क्षेत्रका धेरै जसो जनता धेरै अशिक्षित छन् । त्यस्तो ठाउँमा ‘आइएम एमबीए’ अभियान पुग्दैन ? 
ग्रामिण भेगमा त पछिको कुरा हो । शहरी क्षेत्रमा नै यसको आवश्यकता छ । शहरभित्र नै वित्तीय चेतना कम छ । हेर्दा काठमाडौं उपत्यका सुविधा सम्पन्न छ । काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेको बनेपामा सबै बैंक वित्तीय संस्थाको शाखा छ । बाहिरबाट हेर्दा यहाँ शतप्रतिशत वित्तीय पहुँच पुगेको जस्तो लाग्छ । तर यहाँ अझै सबै सर्वसाधारणमा वित्तीय सुविधा पुग्न सकेको छैन । 

अर्को कुरा वित्तीय चेतना भए पनि यसको प्रयोग गर्ने बारे जानकारी पूर्ण रुपमा थाहा छैन । त्यहि भएर हामीले शहरबाट पहिला शुरु गरेका हौँ । भोली हाम्रो पपुलारीटी देखेर ग्रामिण भेगमा पनि हाम्रो डिमाण्ड भयो भने हामी अवश्य जानेछौँ । अहिलेको हाम्रो मूख्य प्राथमिकता काठमाडौं उपत्यका हो । त्यसपछि हाम्रो जहाँजहाँ शाखा सञ्जालहरु छन् त्यहाँ–त्यहाँ यो अभियान लैजाने छौँ । 

यो अभियानले विद्यार्थी र गृहणीलाई प्राथमिकतामा राखेको छ भन्नु भयो फेरी आइएम एमबीए नामक पुस्तक अंग्रेजी भाषमा प्रकाशन गर्नु भएको छ, गृहणीहरुलाई आइएम एमबिए बारे बुझ्न त्यो पुस्तक असहज हुने देखियो नि ?
हामी त्यसलाई नेपाली संस्करणमा प्रकाशन गर्ने सोचमा पनि छौँ । अभियानमा सहभागिता जनाउने सबैलाई किताब दिएर मात्रै पनि हुँदैन । अहिले हामीले प्रकाशन गरेको पुस्तकको समराइज गरेर नेपाली भाषामा प्रकाशन गर्नेछौँ । नेपाली भाषामा प्रकाशन हुने पुस्तकमा मूख्यमूख्य कुराहरु समेटिनेछन् । त्यसका लागि हामीले तयारी थालिसकेका छौँ । 

एकदमै छोटो रुपमा सर्वसाधारणले बुझ्नु पर्दा आइएम एमबीए भनेको के हो ? 
आइएम एमबीए भनेको वित्तीय साक्षरताको त्यस्तो कार्यक्रम हो जसले कति परिमाणको बचत भन्ने कुरा गर्दैन । बचत गर्ने बानि बसाल्ने र त्यो बचत गरेको पैसाबाट फेरी अझ धेरै पैसा कमाउन सक्नु पर्छ, दुःख गरेर कमाएर बचत गरेको पैसाको भ्यालू कम हुनु हुँदैन । कसरी पैसा बचत गर्ने र बचत गरेको पैसाबाट थप पैसा कसरी कमाउने भन्ने सुसुचित गर्न र आत्मनिर्भर हुनका लागि नै यो अभियान ल्याइएको हो । नेपालको शिक्षा जागिर मूखी शिक्षा छ । मान्छेहरु जागिर खानका लागि पढ्छन् । जागिर खानका लागि होइन उद्यमशिल बनेर आत्मनिर्भर हुनुहोस भन्ने चेतना फैलाउने एउटा कार्यक्रम नै आएएम एमबीए हो । 

नेपाल राष्ट्र बैंकले पनि वित्तीय साक्षरता अभियान चलाइरहेको छ, केन्द्रीय बैंकले चलाएको अभियान र गुडविलले चलाएको अभियानमा के भिन्नता छ ? 
वित्तीय साक्षरता अभियान नेपाल राष्ट्र बैंकले अहिले होइन धेरै पहिलादेखि नै शुरु गरेको हो । राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले पनि धेरै पहिलादेखि नै यो अभियान चलाएका थिए । म सानो उमेर छँदा नै त्यो विज्ञापनहरु रेडियोमा बजेको सुन्थे । तर वहाँहरुको फोकस र हाम्रो फोकस चाहिँ फरक छ । कसैले एका विहानै व्याण्ड बाजा बजाएर, वित्तीय चेतनाको ब्यानर बोकर ¥याली निकाल्छन त्यो फरक एप्रोज हो । हाम्रो एप्रोज भनेको जसलाई वित्तीय चेतनाको आवश्यकता छ, जुन युवाको आडमा देश बन्नु पर्ने हो त्यहि युवा नै आज विदेशमा जाने र विदेशतिरै सेटल हुने गरेका छन् । हो त्यो प्रवृतिलाई कसरी रोक्न सकिन्छ ? त्यसलाई नरोकेसम्म भोली ठूलो समस्या आउन सक्छ भनेर हामीले ति युवाहरुलाई फोकस गरेर यो अभियान चलाइरहेका छौं । 

नेपालमा फाइनान्स कम्पनीहरुको अवस्था कस्तो छ ?
नेपालमा तलरताको समस्या, सीसीडी रेसियो ८० प्रतिशत नाघ्न लागेर बैंकिङ क्षेत्रमा हाहाकार मच्चिन लागेको बेलामा हामी फाइनान्स कम्पनीहरु आनन्द र सुखका साथ बसिरहेका छौं । हामीलाई ति समस्याहरुले छोएको छैन । यसले नै फाइनान्सहरु कुन अवस्थामा छन भन्ने कुरा प्रष्ट हुन्छ । 

मूनाफाको अवस्था कस्तो छ ? 
नेपालमा समस्या भनेको नै यसकै छ । यहाँ कुन संस्था राम्रो छ, कुन सीइओ राम्रो छ छैन भनेर हेर्ने आधार नै मूनाफा भएको छ । बैंक, वित्त संस्थाहरु भनेका लामो समयसम्म या भनौं पुस्तौ पुस्तासम्म चल्ने संस्था हो । यहाँ मूनाफालाई प्रमुख प्राथमिकता दिनु गलत हो । व्यापार व्यवसायमा नाफा तलमाथी त भइहाल्छ । तर, यसको मतलव फाइनान्स कम्पनीहरुको मूनाफा राम्रो छैन भन्ने होइन । अघिल्लो आर्थिक वर्षको तुलनामा केहि कम भयो होला तर समग्रमा फाइनान्स कम्पनीको अवस्था राम्रो छ ।  

पूँजी बृद्धिको योजनापछि धेरै वित्त कम्पनीहरु विलय भए, अझै वित्त कम्पनीको संख्या घट्न सक्ने सम्भावना कत्तिको छ ? 
राष्ट्र बैंकले ल्याएको पूँजी वृद्धिको योजना पश्चात धेरै फाइनान्स कम्पनीहरुको अस्तित्व मेटिएको छ । वर्तमान अवस्थामा २८/२९ वटा फाइनान्स कम्पनीहरु छन् । मेरो विचार १६/१७ मा वटाको संख्यामा आइपुग्छ । 

क र ख वर्गका संस्थाहरुले वित्त कम्पनीहरुको काम÷कारोबार गर्न थालेपछि वित्त कम्पनीहरुको भूमिका खुम्चिएको भनिन्छ नि ?
होइन, त्यसो भन्न पाइँदैन । खुला अर्थनीतिमा बसेर प्रतिष्पर्धाबाट कसैले भाग्नु हुँदैन । फाइनान्सहरु आफैँ सक्षम छन् । फाइनान्स कम्पनीहरु पनि कमर्शीयल बैंक र डेभलपमेन्ट बैंकको काम गरेका छौँ नि । जसले सकिन्छ ग्राहकलाई सहज र सरल तरिकाले सेवा प्रदान गर्ने हो । प्रतिष्पर्धी भएपछि कमर्शीयल बैंकहरुले भाग खोसिदियो भनेर दुःख मान्नुहुँदैन । 

उसो भए कमर्शीयल र डेभलपमेन्ट बैंकसँग प्रचिष्पर्धा गर्न फाइनान्स कम्पनीहरु सक्षम छन् त ? 
फाइनान्स कम्पनीहरु कमर्शीयल र डेभलपमेन्ट बैंकसँग प्रतिष्पर्धा गर्न सक्ने भएका छन् । आज भन्दा डेढ–दुई महिना अघिको ब्याजदरको अवस्था हेर्ने हो भने कमर्शीयल र डेभलपमेन्ट बैंकको भन्दा फाइनान्स कम्पनीहरुको ब्याजदर कम रहेको थियो । यसर्थ कमर्शीयल र डेभलपमेन्ट बैंकसँग प्रतिष्पर्धा गर्न फाइनान्स कम्पनीहरु पूर्ण रुपमा सक्षम छन् । 

फाइनान्स कम्पनीले अनुत्पादनशील क्षेत्रमा बढी कर्जा प्रवाह गर्छन् भन्ने आरोप छ, यो आरोपलाई स्वीकार्नु हुन्छ ? 
कस्तो क्षेत्रलाई उत्पादनशील क्षेत्र भन्ने र कस्तो क्षेत्रलाई अनुत्पादनशील क्षेत्र भन्ने ? उत्पादनशील र अनुत्पादनशील क्षेत्रलाई कसरी परिभाषा गर्ने भन्ने आ–आफ्नो तरिका हुन्छ । राष्ट्र बैंकले उत्पादनशील क्षेत्र भनेर जुन परिभाषा गरेको छ, त्यसलाई मात्र उत्पादनशील क्षेत्र मान्न नसकिएला । जस्तो स्टील इन्डष्ट्रि उत्पादनशील क्षेत्रमा राखिएको छैन भन्दैमा यसलाई के अनुत्पाक क्षेत्र मान्ने त ! मेरो विचारमा कसैल कर्जा लिएर कर्जाको ब्याज तिर्छ र बाँकी रहेको रकम बजारमा परिचालन गर्छ । ह्युमन रिर्सोसेजमा होस या विनेशमा होस त्यो पूँजी परिचालन गर्नु नै उत्पादन हो । 

हामीलाई पहिले फाइनान्स कम्पनीहरुले हायर पर्चेजमा कर्जा दियो त्यो अनुत्पादक क्षेत्र हो भन्ने आरोप पनि लगाइन्थ्यो । यसको ज्वलन्त उदाहरण के हो भने एउटा शिक्षक काठमाडौंको एउटा विद्यालयमा करारमा पार्ट टाइम पढाउँथ्यो, अनि साझा बस चढेर ललितपुरको अलि भित्र तिर अर्को स्कूलमा पार्ट टाइम पढाउथ्यो । त्यो शिक्षकलाई काठमाडौंबाट ललितपुरसम्म जाँदा बाटामा घण्टौँ समय लाग्थ्यो । हामीले फाइनान्स गरिदिएकै कारण त्यो शिक्षक मोटरसाइकलमा सरर गएर दुबैतिर पढाउन भ्याउँछ  । एकातिर उसको समय बचत, समयको बचत भएपछि पैसाको पनि बचत । हिजो सार्वजनिक बसमा यात्रा गर्दा घण्टाँै समय बर्वाद हुने समयमा उसले अर्को स्कूलमा पार्ट टाइम पढाउन सक्छ । 

अर्को कुरा घरमा गरेको लगानी पनि अनुत्पादक क्षेत्रमा गरिएको लगानी भनिन्थ्यो । त्यो घर बनाएका कारण घर बनाउने मजदुरले रोजगार पाएका छन्, घर बनाउन प्रयोग गरिएको फलामे डण्डीको उद्योगमा कामदारले रोजागारी पाएका छन् । त्यो घरमा प्रयोग हुने सिमेन्ट, गिट्टि लगायतका कारण पनि प्रत्यक्ष रोजगारी पाएको अवस्था छ । यसर्थ यि कुराहरुलाई उत्पादनशील क्षेत्रमा लिने कि नलिने ! 

अनुत्पादनशील क्षेत्रमा गरेको लगानी डुब्ने खतरा हुन्छ भनिन्छ नि ?
अनुत्पादक वा उत्पादक क्षेत्रमा दिएर कर्जा डुब्ने भन्ने कुरा हुँदैन । कर्जा लगानी गर्नु पूर्व राम्रो बुझेर, कर्जा लिने मान्छेले किन कर्जा लिन चाहेको, कर्जा लगानी गर्नु ठीक छ छैन भन्ने विस्वस्त भएर लगानी गर्ने हो भने कर्जा डुब्दैन । कर्जा दिएपछि जुन कामका लागि दिएको त्यो काममा प्रयोग भएको छ भने झनै डुब्ने खतरा हुँदैन । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *