कार्यतालिका बनाएर बजेट कार्यान्वयन गरिने

अर्थमन्त्री डा.युवराज खतिवडाले कार्यतालिका बनाएर बजेट कार्यान्वयन गरिने बताएका छन् । नेपाल उद्योग परिसंघ र नेपाल आर्थिक पत्रकार समाजको आयोजनामा विहीबार आयोजित बजेटपछिको छलफलमा उनले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताए ।

 अर्थमन्त्रीले आव २०७५।७६ को बजेटले बजेट घाटालाई निश्चित सीमाभित्र राख्ने कोशिस गरेको स्पष्ट पार्नुभयो । उनले आठ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरी मुलुकमा चार लाख जनतालाई रोजगारी दिने कुरामा सरकार लागेको बताए ।

उद्योग क्षेत्रको विकासका लागि चाहिने ऐन, कानून चाँडो बनाएर सरकार नेपालको औद्योगिक विकासलाई अगाडि बढाउन चाहने बताउँदै उनले भने देशको हितका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार छ ।

कार्यक्रममा अर्थ मन्त्रालय राजश्व सचिव शिशिरकुमार ढुंगानाले महिला उद्यम विकासका लागि सरकारले प्राथमिकता पर्ने बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले औद्योगिक व्यवसाय ऐनलाई पूरा गर्दै लगानीको वातावरण निर्माणमा सरकार लाग्नुपर्नेमा जोड दिएका थिए । “सरकारले निजी क्षेत्रलाई दिने अभिभावकत्वको प्रतीक्षामा निजी क्षेत्र रहेको छ”, शर्माले भने । उनले उद्योग क्षेत्रमा रहेको पुरानो कानूनलाई परिवर्तन र संशोधन गर्नु आवश्यक रहेको समेत बताए ।

कार्यक्रममा नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष पुष्पराज आचार्यले बजेटको समग्र अवस्थाबारे प्रकाश पारेका थिए भने विभिन्न निजी क्षेत्रका व्यक्तिले बजेटले उद्योग क्षेत्रमा पारेको प्रभाव र आगामी दिनमा उद्योग क्षेत्रको विकासका लागि गर्नुपर्ने कार्यबारे सुझाव दिएका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *