लघुवित्तबाट कर्जा : हिम्मतले बनायो उद्यमी

लघुवित्त वित्तीय संस्थाबाट लिएको कर्जा सदुपयोग गरी उद्यमी बनेका थुप्रै उदाहरणहरु हामीमाझ छन् । विशेषगरी, महिलाहरुले लघुवित्तको कर्जा प्रयोग गरी आफ्नो जीवनस्तर उकास्ने मात्र नभएर छोराछोरीका लागि राम्रो शिक्षा र भविष्यका लागि आर्थिक जोहो गर्नेसम्मको हैसियत बनाएका छन् । महिलाहरुको यस्तो मिहिनेत र अठोटले गरिब भएकोमा आफूलाई धिक्कार्दै बसेका थुप्रै परिवारहरुका लागि हौसलाको काम गरेको छ । यस्तै दुई महिलाहरुको सफलताको उदाहरणीय कथा यहाँ प्रस्तुत गरिन्छ । 

शिक्षा र तालिम नभएपनि मानिनन् हार
समाजले त एकछाक मासुका लागि पनि पत्याएन कर्जा । महिला, त्यसमाथि विपन्न वर्ग । शिक्षा पनि छैन तालिम पनि छैन । तर हिम्मतले बनायो सबैजनाले तारिफ गर्ने पात्र । उनको नाम हो आशा कुमारी चौधरी । सुनसरी जिल्लाको गढी गाउँपालिका । यसै ठाउँमा उनको कर्म हेर्न धेरै मानिसको लस्कर लाग्छ । उनले उत्पादन गरेको तरकारी किन्नका लागि समय पर्खनेहरु पनि उत्तिकै भेटिन्छन् यहाँ । पैसा भएर होइन, अरु कसैले गरेको देखेर पनि होइन । न त कसैले होसला नै दिएर हो । हो त केवल कर्मको बाटो रोजेर । काम गर्ने अठोट बोकेपछि मेरो माइक्रोफाइनान्सले आशा कुमारीलाई विश्वास गर्यो । अनि सुरु भयो कर्जाबाट उनको व्यबसाय । उनले आफूजस्तै अरु महिलालाई समुहमा ढालीन् अनि सुरु गरिन् एउटा व्यबसायीक कार्य । २७ जनाको समुहले रोजगारी पाएका छन् यहाँ । अहिले आफ्नै कर्मबाट आफै दंग छिन् आशा कुमारी चौधरी । आफ्नै पौरखबाट जोडिएका छन् कृषिजन्य औजारहरु, ट्याक्टरहरु । एकजनको भागमा बार्षिक करिव ५ लाख रुपैयाँ हात पर्नेगरी पाएको सफलताले भनिरहेको छ – संगठीत भएर काम गर्न सके पैसासँगै खुसी बटुल्न कहीँपनि जानु पर्दैन । 

८/१० हजारबाट सुरु गरेको सिलाई बुनाईले मालिक बनायो
‘सुरुमा त कहाँ ठुलो हुनु, पैसै थिएन’, पहिलो भेटमा लज्जाउँदै सीता खातुनले यही भनिन् । ८/१० हजार जोहो गरेर सुरु गरेको सिलाई बुनाइले अहिले त मालिक बनायो एउटा गार्मेन्ट व्यबसायको । थोरैबाट सुरु गरेको कर्ममा स्वावलम्बन लघुवित्त वित्तिय संस्थाले ५० हजार कर्जा दिएपछि हौसलासँगै व्यबसाय बढ्यो । मनभरी लाग्दैथियो जसरी पनि ऋण तिर्नैपर्छ र आफैले केही गर्नैपर्छ । सबै व्यथा र पीडा विर्सिएर कर्ममा होमएिपछि सीता खातुनका पाइलाहरु अघि बढ्दै गए । आज आज भोलि भोलि व्यबसायको विस्तारले एउटा उद्यमी बन्न समय नै लागेन । आफ्नै कर्मले घर बनेको छ । आफ्नै घरमा उद्योग खुलेको छ । २० जनाले रोजगार पाएका छन् । मासिक कम्तिमा लाख रुपैयाँ आम्दानी हुन्छ । सामान उत्पादन गर्ने र विक्री गर्ने दैनिकिले व्यस्त बनाएको छ । यही व्यस्तता र यही कर्मभित्र परिवारका सदस्य पनि खुसीले गदगद भएका छन् । समाजै उज्यालो बनाउने यी महिलाको घरायसी त्यो सिलाई बुनाई अहिले मार्गेन्ट उद्योग बनेको देख्दा लाग्छ समृद्धिको रेखा कोर्न मेहनत चाहिन्छ, लगाव चाहिन्छ जाँगर अनि हिम्मत चाहिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *