देशको आर्थिक तथा वित्तीय स्थिती : जेठसम्मको तथ्यांक

नेपाल राष्ट्र बैंक अन्तर्गत अनुसन्धान विभागले आर्थिक वर्ष २०७४/७५ को एघार महिनाको तथ्याङ्कमा आधारित रहेर देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ :

आर्थिक परिदृश्य 
१. नेपालमा कृषि उत्पादन र खासगरी वर्षे बालीको उत्पादन मनसुनी वर्षामा निर्भर रहने गर्दछ । हालसम्मको स्थितिलाई हेर्दा मनसुनको अवस्था राम्रो रहेको छ । समयमै वर्षा सुरु भएकोले धान रोपाईं बढेको कृषि मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०७५/७६ को कृषि उत्पादन बाँकी अवधिमा हुने मनसुनी वर्षमा निर्भर रहने देखिन्छ । 
२. समीक्षा अवधिमा पर्यटक आगमनमा वृद्धि हुनुका साथै २०७२ बैशाखको भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माणले गति लिएकोले समेत आगामी दिनमा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने देखिन्छ । 
३. आर्थिक वर्ष २०७४/७५ को एघार महिनामा शोधनान्तर स्थितिमा केही सुधार आएको छ । दश महिनामा रु.१८.९३ अर्ब रहेको शोधनान्तर घाटा एघार महिनामा रु.४.३४ अर्बमा सीमित रहेको छ । २०७५ जेठ मसान्तमा विदेशी विनिमय संचिति रु.१०९४ अर्ब पुगेको छ, जुन ९.६ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त छ । 
४. समीक्षा अवधिमा मौद्रिक योगाङ्कहरुको वृद्धि अपेक्षित स्तरमा रहेको छ । कर्जा प्रवाहको वृद्धिदर निक्षेप परिचालन भन्दा उच्च रहेतापनि सरकारी खर्चमा भएको वृद्धि तथा विप्रेषण आप्रवाहमा आएको विस्तारले निक्षेप परिचालनमा सकारात्मक प्रभाव परेको छ । फलस्वरुप, बजार ब्याजदरमा स्थिरता आएको छ । 

मुद्रास्फीति र तलब तथा ज्यालादर 
उपभोक्ता मुद्रास्फीति 

५. २०७५ जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१ प्रतिशत पुगेको छ । यस्तो मुद्रास्फीति २०७४ जेठ महिनामा २.८ प्रतिशत रहेको थियो । खाद्य मुद्रास्फीतिमा आएको वृद्धिका कारण अघिल्लो वर्षको तुलनामा समग्र मुद्रास्फीति बढ्न गएको हो ।

खाद्य मुद्रास्फीति 
६. २०७५ जेठ मसान्तमा खाद्य मुद्रास्फीति ३.० प्रतिशत रहेको छ । अघिल्लो वर्ष उक्त मुद्रास्फीति १.० प्रतिशतले ऋणात्मक रहेको थियो। गत वर्षको तुलनामा मूलतः तरकारी, फलफूल, घ्यु तथा तेल, दुग्धजन्य पदार्थ तथा अण्डा लगायतका वस्तुहरुको मूल्यमा भएको वृद्धिका कारण समग्र खाद्य मुद्रास्फीति बढ्न गएको हो । 

गैर–खाद्य मुद्रास्फीति 
७. समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ५.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति ५.८ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको शिक्षा, लत्ता कपडा तथा जुत्ता, फर्निचर तथा घरायसी उपकरण र घरायसी सामान लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैर–खाद्य मुद्रास्फीति कम हुन गएको हो । 

क्षेत्रगत उपभोक्ता मुद्रास्फीति 
८. क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति हिमालमा ६.४ प्रतिशत, पहाडमा ४.९ प्रतिशत, तराईमा ४.२ प्रतिशत र काठमाडौं उपत्यकामा ३.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर हिमालमा १.८ प्रतिशत, पहाडमा ४.० प्रतिशत, तराईमा ३.१ प्रतिशत र काठमाडौं उपत्यकामा १.४ प्रतिशत रहेको थियो । 

नेपाल र भारतबीचको उपभोक्ता मुद्रास्फीति 
९. अन्तर २०७५ जेठ महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१ प्रतिशत र भारतको ५.० प्रतिशत रहेको छ । फलतः यी दुई मुलुक बीचको उपभोक्ता मुद्रास्फीति अन्तर ०.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति २.८ प्रतिशत र भारतको १.५ प्रतिशत रहेको थियो । 

थोक मुद्रास्फीति 
१०. २०७५ जेठ मसान्तमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ०.७ प्रतिशत रहेको थियो । खासगरी, पेट्रोलियम पदार्थ, औषधी र नगदेवाली लगायतका वस्तुको मूल्यमा भएको वृद्धिको कारण अघिल्लो वर्षको तुलनामा समग्र थोक मुद्रास्फीति बढ्न गएको हो । 

राष्ट्रिय तलव तथा ज्यालादर सूचकाङ्क 
११. समीक्षा अवधिमा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क ६.३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क १५.० प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा तलब सूचकाङ्कमा ९.४ प्रतिशत र ज्यालादर सूचकाङ्कमा ५.५ प्रतिशतले वृद्धि भएको छ । 

बाह्य क्षेत्र 
वैदेशिक व्यापार 

१२. आर्थिक वर्ष २०७४/७५ को एघार महिनासम्ममा कुल वस्तु निर्यात १०.४ प्रतिशतले वृद्धि भई रु.७४ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८.३ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ८.७ प्रतिशत, चीनतर्फ ९१.६ प्रतिशत र अन्य मुलुकतर्फ ८.१ प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा अलँैची, पोलिष्टर यार्न, जुटको बोरा, धागो, जस्तापाता लगायतका वस्तुको निर्यात बढेको छ भने जि.आई पाईप, जुटको रस्सी, जुस, उनी गलैँचा, पश्मिना, लगायतका वस्तुहरुको निर्यात घटेको छ । 
१३. समीक्षा अवधिमा कुल वस्तु आयात २३.५ प्रतिशतले बढेर रु.११०७ अर्ब ३५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३०.९ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात २५ प्रतिशत, चीनबाट भएको आयात २५.३ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १८.१ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, अन्य मेशिनरी तथा पार्टपुर्जा, एम.एस. विलेट, सिमेन्ट, लगायतका वस्तुको आयात बढेको छ भने कृषि औजार तथा पार्टपुर्जा, हवाईजहाजका पार्टपुर्जा, सेनिटरीवेयर्स, सानो अलैँची, जिङ्क ईनगोट, लगायतका वस्तुहरुको आयात घटेको छ । 
१४. भन्सार नाकाका आधारमा सुख्खा बन्दरगाहा भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, नेपालगंज भन्सार कार्यालय, मेची भन्सार कार्यालय, कैलाली भन्सार कार्यालय र रसुवा भन्सार कार्यालयबाट भएको निर्यातमा वृद्धि भएतापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा कमी आएको छ । त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा सुख्खा बन्दरगाहा भन्सार कार्यालय र कञ्चनपुर भन्सार कार्यालयबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ । समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा २४.६ प्रतिशतले विस्तार भई रु.१०३३ अर्ब ४ करोड पुगेको छ । 
१५. समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६.७ प्रतिशत कायम भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ७.५ प्रतिशत रहेको थियो । 

निर्यात आयात मूल्य सूचकाङ्क 
१६. आर्थिक वर्ष २०७४/७५ को एघार महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क वार्षिक बिन्दुगत आधारमा ६.२ प्रतिशतले बढेको र आयात मूल्य सूचकाङ्क ११ प्रतिशतले वृद्धि भएकोले व्यापारको सर्तमा ४.४ प्रतिशतले ह्रास आएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो सर्त १.५ प्रतिशतले बढेको थियो । कार्पेट, पित्तलको पाता, यार्सागुम्बा, कत्था, लगायतका वस्तुहरुको मूल्य बढेको कारण निर्यात मूल्य सूचकाङ्कमा वृद्धि भएको हो भने पेट्रोलियम पदार्थ, सवारी साधन, टायर, रेफ्रिजिरेटर, लगायतका वस्तुहरुको मूल्यमा वृद्धि भएका कारण आयात मूल्य सूचकाङ्कमा वृद्धि भएको हो ।

सेवा 
१७. समीक्षा अवधिमा कुल सेवा आय ९.९ प्रतिशतले र कुल सेवा खर्च १३.४ प्रतिशतले बढेको कारण खुद सेवा आय रु.१ अर्ब ५९ करोड करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.६ अर्बले बचतमा रहेको थियो । सेवा खाता अन्र्तगत पर्यटन आय समीक्षा अवधिमा १३.३ प्रतिशतले वृद्धि भई रु.६२ अर्ब ५७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४१.८ प्रतिशतले बढेको थियो । 

विप्रेषण आप्रवाह 
१८. समीक्षा अवधिमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई रु.६७९ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले बढेको थियो । खुद ट्रान्सफर आप्रवाह भने ०.१ प्रतिशतले बढी रु.७७६ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११.६ प्रतिशतले बढेको थियो । 
१९. वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या (पुनः श्रम स्वीकृति बाहेक) समीक्षा अवधिमा ८.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.५ प्रतिशतले घटेको थियो । 

चालू खाता एवम् शोधनान्तर स्थिति 
२०.  समीक्षा अवधिमा चालू खाता रु.२०९ अर्ब २१ करोडले घाटामा गएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु.२ अर्ब ९९ करोड रहेको थियो । समीक्षा अवधिमा आयात उल्लेख्य रहेकाले चालू खातामा उच्च घाटा भएको हो । फलस्वरुप, अघिल्लो वर्षको एघार महिनामा रु.७४ अर्ब २३ करोडले बचतमा रहेको समग्र शोधनान्तर स्थिति समीक्षा अवधिमा रु.४ अर्ब ३४ करोडले घाटामा रहेको छ । 
२१. समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु.१५ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी रु.१२ अर्ब २७ करोड रहेको थियो । 

विदेशी विनिमय सञ्चिति 
२२. २०७४ असार मसान्तको रु.१०७९ अर्ब ४३ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २०७५ जेठ मसान्तमा १.३ प्रतिशतले वृद्धि भई रु.१०९४ अर्ब पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७४ असार मसान्तको रु.९२७ अर्ब २७ करोडको तुलनामा २०७५ जेठ मसान्तमा ५.५ प्रतिशतले वृद्धि भई रु.९७८ अर्ब १८ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७४ असार मसान्तमा रु.१५२ अर्ब १७ करोड रहेकोमा २०७५ जेठ मसान्तमा २३.९ प्रतिशतले कमी आई रु.११५ अर्ब ८२ करोड रहेको छ । २०७५ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.६ प्रतिशत रहेको छ । 

सञ्चिति पर्याप्तता सूचकहरू 
२३. आर्थिक वर्ष २०७४/७५ को एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११ महिनाको वस्तु आयात र ९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३६.४ प्रतिशत, ८०.१ प्रतिशत र ३७.१ प्रतिशत रहेका छन् । २०७४ असार मसान्तमा यस्ता अनुपातहरू क्रमशः ४०.८ प्रतिशत, ९५.२ प्रतिशत र ४१.६ प्रतिशत रहेका थिए । 

कच्चा पेट्रोलियम एवम् सुनको मूल्य
२४. कच्चा पेट्रोलियम एवम् सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य २०७४ जेठ मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ४५.४७ रहेकोमा २०७५ जेठ मसान्तमा ६४.४ प्रतिशतले वृद्धि भई प्रति ब्यारल अमेरिकी डलर ७४.७७ पुगेको छ । त्यसैगरी, सुनको मूल्य २०७४ जेठ मसान्तमा प्रति आउन्स अमेरिकी डलर १२७५.५० रहेकोमा २०७५ जेठ मसान्तमा २.१ प्रतिशतले वृद्धि भई प्रति आउन्स अमेरिकी डलर १३०२.७५ पुगेको छ । 

विनिमय दर 
२५. २०७४ असार मसान्तको तुलनामा २०७५ जेठ मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग ४.७ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दर ३.९ प्रतिशतले अधिमूल्यन भएको थियो । २०७५ जेठ मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु.१०७.९४ पुगेको छ । २०७४ असार मसान्तमा उक्त विनिमय दर रु.१०२.८६ रहेको थियो । 

सरकारी वित्त स्थिति 
बजेट घाटा/बचत 

२६. आर्थिक वर्ष २०७४/७५ को एघार महिनामा नगद प्रवाहमा आधारित नेपाल सरकारको बजेट घाटा रु.१७७ अर्ब ८२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु.१२ अर्ब ६५ करोड रहेको थियो । 

सरकारी खर्च 
२७. समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च रु.८३२ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.५५५ अर्ब १० करोड रहेको थियो । 
२८. समीक्षा अवधिमा चालू खर्च रु.६०७ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.३९४ अर्ब ५१ करोड रहेको थियो । समीक्षा अवधिमा पुँजीगत खर्च ४०.१ प्रतिशतले बढेर रु.१५१ अर्ब ८८ करोड भएको छ । अघिल्लो वर्ष यस्तो खर्च ९४.५ प्रतिशतले बढेर रु.१०८ अर्ब ४३ करोड भएको थियो ।

सरकारी राजस्व 
२९. समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व सङ्कलन १८.७ प्रतिशतले वृद्धि भई रु.६२५ अर्ब ७७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व ३३.१ प्रतिशतले वृद्धि भई रु.५२७ अर्ब १४ करोड पुगेको थियो । 

सरकारको नगद मौज्दात 
३०. २०७५ जेठ मसान्तसम्ममा सरकारी ढुकुटीमा रु.२४८ अर्ब ४८ करोड (स्थानीय तहको खातामा जम्मा भएको रकम रु.१०३ अर्ब ७७ करोड समेत) नगद मौज्दात कायम रहेको छ । 

मौद्रिक स्थिति 
मुद्राप्रदाय 

३१.आर्थिक वर्ष २०७४/७५ को एघार महिनामा विस्तृत मुद्राप्रदाय १३.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ११.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ जेठ मसान्तमा विस्तृत मुद्राप्रदाय १७.७ प्रतिशतले बढेको छ । 
३२. समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा÷नोक्सान समायोजित) रु. ४ अर्ब ३४ करोड (०.४ प्रतिशत) ले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु. ७४ अर्ब २३ करोड (७.८ प्रतिशत) ले बढेको थियो । 
३३. समीक्षा अवधिमा सञ्चित मुद्रा ०.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा ७.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ जेठ मसान्तमा सञ्चित मुद्रा १२.२ प्रतिशतले बढेको छ । 

कुल आन्तरिक कर्जा 
३४. समीक्षा अवधिमा कुल आन्तरिक कर्जा १८.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ११.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ जेठ मसान्तमा यस्तो कर्जा २८.३ प्रतिशतले बढेको छ । 
३५. समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी २१.० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी १८.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी २०७५ जेठ मसान्तमा २१.० प्रतिशतले बढेको छ । 

निक्षेप संकलन 
३६. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १३.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १०.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १७.६ प्रतिशतले बढेको छ । 
३७. २०७५ जेठमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ८.६ प्रतिशत, ३४.५ प्रतिशत र ४५.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ७.९ प्रतिशत, ३५.८ प्रतिशत र ४३.४ प्रतिशत रहेको थियो । 
३८. २०७५ जेठमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.३२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो निक्षेपको अंश ४४.२ प्रतिशत रहेको थियो । 

कर्जा प्रवाह 
३९. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १९.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १७.१ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह १९.९ प्रतिशत, विकास बैंकहरुको २०.६ प्रतिशत र वित्त कम्पनीहरुको १४.३ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७५ जेठमा मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २१.० प्रतिशतले बढेको छ । 
४०. २०७५ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१.४ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.७ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७४ जेठमा मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६१.१ प्रतिशत र १३.९ प्रतिशत रहेको थियो । 
४१. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित ट्रष्ट रिसिप्ट (आयात) कर्जा ८३.३ प्रतिशत (रु.५३ अर्ब ७४ करोड) ले वृद्धि भई रु. ११८ अर्ब २७ करोड पुगेकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ०.८ प्रतिशतले घटेको थियो । 
४२. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित हायर पर्चेज कर्जा १२.८ प्रतिशतले तथा ओभरड्राफ्ट कर्जा १३.३ प्रतिशतले बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १५.० प्रतिशतले बढेको छ । 

तरलता व्यवस्थापन 
४३. आर्थिक वर्ष २०७४/७५ को एघार महिनासम्ममा खुलाबजार कारोबारका विभिन्न उपकरणहरुमार्फत् पटक–पटक गरी रु. १३५ अर्ब २५ करोड तरलता प्रशोचन गरिएको छ । यस अनुसार निक्षेप संकलन बोलकबोलमार्फत् रु. ४२ अर्ब ३५ करोड, ब्याजदर करिडोर अन्तर्गतको चौध दिने निक्षेप संकलन बोलकबोलमार्पmत् रु. ३ अर्ब १५ करोड, रिभर्स रिपोमार्फत् रु. ८४ अर्ब ७५ करोड र सोझै विक्री बोलकबोलमार्फत रु. ५ अर्बको तरलता प्रशोचन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु. १०१ अर्ब १० करोड तरलता प्रशोचन भएको थियो । 
४४. समीक्षा अवधिमा यस बैंकले ब्याजदर करिडोर अन्तर्गतको १४ दिने रिपो बोलकबोलमार्फत् रु. ६९ अर्ब ७२ करोड र सोझै खरिद बोलकबोलमार्फत् ३७ अर्ब ६२ करोड गरी कुल रु. १०७ अर्ब ३४ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा रु. ६१ अर्ब तरलता प्रवाह भएको थियो । 
४५. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले रु. ३८ अर्ब ३३ करोड बराबरको स्थायी तरलता सुविधा उपयोग गरेका छन्। अघिल्लो वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले रु. ६२ अर्ब ३९ करोड बराबरको त्यस्तो सुविधा उपयोग गरेका थिए । 
४६. समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर ३ अर्ब ७९ करोड खुद खरिद गरी रु. ३९३ अर्ब ८१ करोड खुद तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ३ अर्ब ७४ करोड खुद खरिद गरी रु. ३९८ अर्ब ३३ करोड खुद तरलता प्रवाह गरिएको थियो । 
४७. समीक्षा अवधिमा अमेरिकी डलर ४ अर्ब ३६ करोड , यूरो ६ करोड र पाउण्ड स्टर्लिङ्ग ९ करोड बिक्री गरी रु. ४७३ अर्ब १२ करोड बराबरको भा.रु. खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ४ अर्ब १२ करोड र यूरो १२ करोड बिक्री गरी रु.४५१ अर्ब ८९ करोड बराबरको भा.रु. खरिद भएको थियो । 

पुनरकर्जा 
४८. उत्पादनशील क्षेत्रतर्पm लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । २०७५ जेठ मसान्तमा रु. १७ अर्ब ९२ करोड यस बैंकले प्रदान गरेको पुनरकर्जा लगानीमा रहेको छ । 
४९. भूकम्प पीडितहरूलाई बढीमा २.० प्रतिशतसम्मको ब्याजदरमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत २०७५ जेठ मसान्तसम्ममा रु.१ अर्ब ७७ करोड पुनरकर्जा उपयोगमा रहेको छ । 

अन्तर–बैंक कारोबार 
५०. आर्थिक वर्ष २०७४/७५ को एघार महिनासम्ममा वाणिज्य बैंकहरूले रु. १०८२ अर्ब ४० करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) ले रु.४३ अर्ब २८ करोडको अन्तर–बैंक कारोबार गरेका छन्। अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरू र अन्य वित्तीय संस्थाहरूले क्रमशः रु. १००६ अर्ब ६० करोड र रु. ३६० अर्ब ७८ करोडको यस्तो कारोबार गरेका थिए ।

ब्याजदर 
५१. २०७४ जेठमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर १.०३ प्रतिशत रहेकोमा २०७५ जेठमा ४.३८ प्रतिशत कायम भएको छ । त्यसैगरी, वाणिज्य बैंकहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर भने २०७४ जेठको २.४६ प्रतिशतको तुलनामा २०७५ जेठमा ४.१८ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर २०७४ जेठको ९.४० प्रतिशतको तुलनामा २०७५ जेठमा १०.४१ प्रतिशत पुगेको छ । 

मर्जर/प्राप्ति 
५२. यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७५ जेठ मसान्तसम्म कुल १६२ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १२१ वटा संस्थाहरुको इजाजत खारेज हुन गई कुल ४१ संस्था कायम भएका छन् । 

वित्तीय पहुँच 
५३. संघीयता कार्यान्वयनको क्रममा गठन भएका ७५३ स्थानीय तहहरुमध्ये २०७५ जेठ मसान्तसम्म ५५० स्थानीय तहहरुमा वाणिज्य बैंकहरुको उपस्थिति रहेको छ । प्रदेशगत रुपमा वाणिज्य बैंकको उपस्थिति बक्स ५ मा प्रस्तुत गरिएको छ । 

पुँजी बजार 
५४. नेप्से सूचकाङ्क वार्षिक विन्दुगत आधारमा २१.३ प्रतिशतले ह्रास भई २०७५ जेठ मसान्तमा १२४७.३ विन्दुमा सीमित भएको छ । २०७४ जेठ मसान्तमा उक्त सूचकाङ्क १.८ प्रतिशतले ह्रास भई १५८४.५ विन्दु कायम भएको थियो । २०७४ असार मसान्तमा भने नेप्से सूचकाङ्क १५८२.७ विन्दु कायम भएको थियो । 
५५. धितोपत्र बजार पूँंजीकरण वार्षिक विन्दुगत आधारमा २०.६ प्रतिशतले ह्रास भई २०७५ जेठ मसान्तमा रु.१४७१ अर्ब ८१ करोड कायम भएको छ । बजार पूँजीकरण २०७४ जेठ मसान्तमा ६.५ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०७४÷७५ को कुल गार्हस्थ्य उत्पादनसँग समीक्षा अवधिको बजार पूँजीकरणको अनुपात ४८.९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ७०.१ प्रतिशत रहेको थियो । बजार पूँजीकरणमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरुको अंश ८०.६ प्रतिशत रहेको छ भने जलविद्युत् क्षेत्रको ४.६ प्रतिशत, उत्पादन तथा प्रशोधन क्षेत्रको २.९ प्रतिशत, होटलहरूको १.७ प्रतिशत, व्यापारिक संस्थाहरूको ०.१ प्रतिशत र अन्यको १०.२ प्रतिशत रहेको छ । 
५६. २०७५ जेठमा कुल शेयर कारोबार रकम २०७४ जेठको तुलनामा ४१.३ प्रतिशतले ह्रास भई रु.८ अर्ब ७ करोड कायम भएको छ । यस्तो कारोबार रकम २०७४ जेठमा ५४.३ प्रतिशतले ह्रास भई रु.१३ अर्ब ७६ करोड रहेको थियो । 
५७. नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७५ जेठ मसान्तमा १९५ रहेको छ । २०७४ जेठ मसान्तमा यस्तो संख्या २१२ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये १४७ वटा बैंक तथा वित्तीय संस्था (बीमा कम्पनी समेत) रहेका छन् भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, १८ वटा जलविद्युत्कम्पनी, ४÷४ वटा होटल तथा व्यापारिक संस्था र ४ वटा अन्य समूहका रहेका छन् । 
५८. नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत शेयरहरूको चुक्ता मूल्य वार्षिक विन्दुगत आधारमा २२.६ प्रतिशतले वृद्धि भई २०७५ जेठ मसान्तमा रु.३४७ अर्ब ५ करोड पुगेको छ । समीक्षा अवधिमा रु.३० अर्ब ८३ करोड बराबरको साधारण शेयर, रु.३३ अर्ब ३५ करोड बराबरको हकप्रद शेयर, रु.२६ अर्ब ४५ करोड बराबरको बोनस शेयर र रु.३६ अर्ब ४७ करोड बराबरको सरकारी ऋणपत्र समेत गरी कुल रु.१२७ अर्ब ७२ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । स्रोत : नेपाल राष्ट्र बैंक

Leave a Reply

Your email address will not be published. Required fields are marked *