तपाईँ जस्तो सोच्नुहुन्छ, जीवन त्यस्तै बन्छ

आर.आर हरिकृष्ण जोशी । एक जना गुरुको २ जना चेला रहेछन् । लामो समयदेखि उनले आफना चेलाहरुलाई शिक्षा प्रदान गरिरहेका थिए । ती दुईमध्ये एक जना जे कुरामा पनि शंका गर्ने र अर्का चाहिँ जे कुरालाई पनि सकारात्मक ढङ्गबाट हेर्ने । लामो अन्तरालपछि गुरुलाई परिक्षा लिन मन लागेछ । अनि दुबै शिष्यलाई बोलाएछन् । सबै कुरा नकारात्मक देख्नेलाई उनले बजारबाट दुई जना सकारात्मक मान्छे लिएर आउन भनेछन् । सबै सकारात्मक देख्नेलाई भने बजारबाट दुई जना नकारात्मक मान्छे खोजेर ल्याउन भनेछन् । तर, उनीहरु रित्तो हात फर्किएछन् । सँधै सकारात्मक देख्ने शिष्यले आफूले भेटेजति सबैसँग कुरा गरेको र सबैमा एउटा न एउटा कुरा सकारात्मक पाएको बताएछन् भने सँधै नकारात्मक देख्ने शिष्यले सबैमा केही न केही नकारात्मक रहेको बताएछन् । 

हो, हामी जबसम्म सकारात्मक बन्न सक्दैनौँ तबसम्म सकारात्मक सोच्न र देख्न पनि सक्दैनौँ । हामी आफ्ना लागि आफैँ जिम्मेवार छौँ, अरु होईन । सोच भनेको बिउ हो । तपाई जस्तो सोच्नुहुन्छ, त्यस्तै बिउ बन्छ । जब बिउ उम्रेर ठुलो हुन्छ, त्यसले तपाईकै सोच अनसुारको फल दिन्छ ः सकारात्मक सोचेको भए सकारात्मक र नकारात्मक सोचेको भए नकारात्मक । 

हामीलाई सकारात्मकभन्दा पनि नकारात्मक सोचले थिचेको छ । हाम्रा अभिभावकहरुले नकारात्मक बिउ रोपेर फलहरु फलाईरहेका छन् र त्यही फल टिपेर हामीले खाईरहेका छौँ । अनि कहाँबाट आउँछ सकारात्मक सोच ? यदि त्यसो होईन भने जन्मँदा लोभ, लालच, ईष्र्या केही नभएको बच्चा जब बुझ्ने हुन्छ, अनि ती सब सिक्छ । आखिर प्रभाव त समाज र अभिभावकको हो ।

कोेही मानिसलाई भेटेर खबर सोध्यो भने बेहाल छ जिन्दगी भन्छ । व्यवसायको बारेमा सोध्यो खत्तम छ भन्छ । जागीर कस्तो छ भन्यो कचकच छ धेरै भन्छ । जे कुरालाई पनि नकारात्मक तरिकाबाट प्रस्तुत गर्छन् मानिसहरु, आखिर किन ? जे समस्या परे पनि मलाई मात्रै किन भगवान यस दुनियामा अरु देखेनौँ ? मैले तिम्रो के बिगारेको थिए र ? भन्ने जस्ता प्रश्न हरु आउँछन् । त्यही मानिस हजारौँलाई पछि पार्दै कुनै अन्तर्वार्तामा सफल हुन्छ वा कुनै खेलमा जित हात पार्छ, उसले भगवान्लाई धन्यवाद कहिल्यै दिँदैन । किनकि, हामीलाई समाजमा रोपिएको बिउले प्रभाब पारीरहेको छ, जे कुरालाई पनि नकारात्मक देख्ने गरी ।

क्षणिक सुखको लागि हामी उल्टो बाटो हिँडेर अरुका लागि कुभलो चिताइरहेका छौँ । जिबन के हो ? बुझेका छैनौँ । बुझ्दै नबुझी बुझेको जस्तो गरिरहेका छौँ । गाउँको एउटा किसान बस चढेर बजार जान्छ र बसपार्कमा झरेपछि ट्याक्सीवालाले क हाँ जाने भनेर सोध्छ । जवाफमा उसले भन्छ, – मन्दिर, कति हो ? ट्याक्सीवालाले तीन सय भनेको सुनेर उ हिँडेर जान सुरु गर्छ । अलि परसम्म ट्याक्सीवालाले उसलाई पछ्याउँछ र ५०० मा लैजाने भन्छ । यत्रो बाटो हिँडिसक्दा पनि अझ ५०० भन्ने उसको प्रश्नमा ट्याक्सीवालाले उ उल्टो बाटो हिँडेको बताउँछ । त्यसपछि, उ ५०० तिरेर मन्दिर पुग्छ । यसैगरी, हामी पनि जान्दै नजानेको कुरालाई जानेको जस्तो देखाउन खोजिरहेका छौँ र उल्टो दिशामा गइरहेका छौँ । 

अतः जीवनलाई चिनेर र बुझेर मात्रै यात्रा गरौँ । यसो गर्दा यात्रा तनावमुक्त र आनन्दमयी हुन्छ । भावी सन्ततीले सकारात्मक सन्देश लिने खालको बिउ रोपौँ । यसले उनीहरुलाई असल मार्गमा हिँड्नलाई पे्ररीत गर्छ । (लेखक बैंकर हुन् ।) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *