बिमस्टेक सम्मेलनमा जारी घोषणापत्र : केके भयो सहमति ?

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौंथो शिखर सम्मेलन १८ बुँदे काठमाडौं घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । राजमार्ग, रेलमार्ग, जलमार्ग र विद्युत प्रशारण लाईनमार्फत् सदस्यहरुलाई जोड्ने विषयमा जोड दिँदै शुक्रबार बिमस्टेक शिखर सम्मेलन सम्पन्न भएको हो ।

 बिमस्टेक शिखर सम्मेलनले सदस्य राष्ट्रहरुलाई जोड्ने सम्बन्धको रुपमा राजमार्ग, रेल मार्ग, जलमार्ग र विद्युत प्रशारण निर्माणका लागि जोड दिने साझा प्रतिवद्धता सहितको काठमाडौं घोषणा पत्र जारी गरेको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए ।

सम्मेलन सकिएलगत्तै उनले पत्रकार सम्मेलन गरी सम्मेलनको मुख्य जोड राजमार्गमार्फत् सदस्य राष्ट्रहरुलाई जोडने विषयमा केन्द्रित रहेको पनि स्पष्ट पारे ।

परराष्ट्रमन्त्री ज्ञवालीले शिखर सम्मेलनले सदस्यहरुबीचको १८ बुदे घोषणा पत्र कार्यान्वयन र त्यसका लागि आवश्यक आर्थिक कोष स्थापनाका लागि छिट्टै कार्य दल बनाउने सहमति पनि गरिएको जानकारी दिए । कार्य दलले बिमस्टेकको गुरुयोजनालाई अन्तिम रुप दिएर १८ बुदे काठमाडौं घोषणा पत्र लागू गर्ने पनि मन्त्री ज्ञवालीले बताए ।

बिमस्टेकको गुरुयोजना बनाउने काम सुरु गरिएको छ । त्यसलाई छिट्टै अन्तिम रुप दिने गरी कामलाई अघि बढाउन आवश्यक पहल गर्ने जिम्मेवारी बिमस्टेक सचिवालयलाई शिखर सम्मेलनले दिएको छ ।

शिखर सम्मेलनले गरिबी र आतङ्कवादको अन्त्यका लागि साझा सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । आतङ्कवाद नियन्त्रणका लागि सदस्य राष्ट्रहरुबीच संयुक्त सैन्य अभ्यास गर्ने कुरालाई पनि शिखर सम्मेलनले जोड दिएको परराष्ट्र मन्त्री ज्ञवालीले बताए ।

शिखर सम्मेलनमा सदस्य राष्ट्रहरुबीचको दिगो विकासका लागि पर्यटकीय पर्यावरण क्षेत्रको संरक्षणमा जोड दिने, जलवायु परिवर्तन न्यूनिकरण र भूपरीवेष्ठित सदस्य राष्ट्रहरुलाई अघि बढाउन पहल गर्ने सहमति पनि गरिएको छ ।

भूपरीवेष्ठित देशहरुको व्यापार र पारबहनसम्बन्धि समस्यालाई सहज बनाउन पनि सदस्य राष्ट्रहरुबीच सहकार्य गर्ने योजना पनि बनाइएको छ ।

शिखर सम्मेलनले सार्क, आशियानलगायतका क्षेत्रीय संगठनहरुसँग आवश्यक सहकार्य गरेर अघि बढ्ने सहमति पनि गरेको छ ।

बिहिबार र शुक्रबार काठमाडौंमा सम्पन्न चौंथो शिखर सम्मेलनमा सम्मेलनमा बंगालदेशी प्रधानमन्त्री शेख हसिना, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ग्योल्पो छिरिङ वाङ्चुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यान्मारका राष्ट्रपति विन मिन्ट, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रायुत च्यान ओचा सहभागी थिए ।

बिमस्टेकको पाँचौं शिखर सम्मेलन श्रीलङ्काले आयोजना गर्नेछ । यसअघि सन् २००४ मा थाईल्याण्ड, २००८ मा भारत, सन् २०१४ मा म्यानमारले बिमस्टेक शिखर सम्मेलन आयोजना गरेको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *