माथिल्लो दोर्दी “ए” को ८० प्रतिशत काम पूरा, फागुनमा सक्ने टार्गेट

लिबर्टी इनर्जी कम्पनी लि. ले लमजुङको ढोडेनी फलेनीमा निर्माण गरिरहेको २५ मे.वा.को माथिल्लो दोर्दी “ए” जलविद्युत आयोजनाको २६२३ मिटर सुरुङ बिहीबार अर्थात् २०७५ असोज १८ गते सम्पन्न (सुरुङ छेडिएको) भएको छ । कम्पनीका अध्यक्ष कुशकुमार जोशी र प्रबन्धक संचालक आत्माराम घिमिरेले स्चीच अल गरी अन्तिम ब्रेक थ्रु को ब्लास्ट गरे ।

सो कार्यक्रममा १.गण्डकी प्रदेश  लम्जुङ क्षेत्र नं १ का सांसद धनन्जय दवाडी, नेकपा जिल्ला संयोजक कृष्ण अधिकारी, नेपाली काँगे्रस जिल्ला सदस्य हरि बराल, लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापा,  जंग गणका गणपति शिखर जबराको उपस्थिति थियो ।

कार्यक्रममा कम्पनीका अध्यक्ष कुशकुमार जोशीले लक्षित समयभित्रै विद्युत उत्पादन गर्ने प्रतिबद्धता जनाए । उत्पादित विद्युत खेर नजाने कुरामा कम्पनी विश्वस्त रहेको पनि उनले बताए ।

यस्तै, संसद धनन्जय दवाडीले लमजुङ लगानीमैत्री जिल्ला भएको भन्दै ढुक्कसँग लगानी गर्न आग्रह गरे । उनले निर्माण क्रममा देखिने समस्या समाधान गर्न राजनीतिक दल र स्थानीयको पूर्ण सहयोग हुने पनि बताए ।

राजनीतिक दल, स्थानीय, सरकारी निकाय तथा सरोकार समिति र कम्पनीका सम्पूर्ण कर्मचारीको सहयोगले समयमै सुरुङको काम पूरा भएको प्रबन्ध निर्देशक घिमिरेले बताए । आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राखिएको पनि उनले उल्लेख गरे ।

यसैगरी, सञ्चालकहरु राम बहादुर पाण्डे, राजेन्द्र वस्ती, दोर्दी गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र सरोकार समितिका अध्यक्षको उपस्थिति थियो । आयोजनाको हेडवक्र्सदेखि २६२३ मिटर सुरुङ्ग र २८५४ मिटर पेनस्टक पाईप निर्माण रहनेछ ।

हालसम्म आयोजनाको करिब ८०% निर्माण पूरा भएको छ । आगामी फागुनसम्म आयोजनाका सम्पूर्ण संरचना निर्माण तथा उपकरण जडान गर्ने लक्ष्य राखिएको छ ।

आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाईमा ९ वटा बैंकले ऋण लगानी गरेका छन् । ३ अर्ब ९६ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा अहिलेसम्म २ अर्ब ६२ करोड ३५ लाख रुपैयाँ खर्च भएको कम्पनीका सञ्चालक पाण्डेले जानकारी दिए ।

Please follow and like us:
error0

Leave a Reply

Your email address will not be published. Required fields are marked *