जनताको जलविद्युतमा लगानी : प्रधानमन्त्रीले दिए १० हजार कित्ता आवेदन

बैंकिङ खबर । सरकारको ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत आयोजनाले चैत ७ गते बिहीबार देखि शेयर विक्री शुरु गरेको छ । जसको पहिलो शेयर आवेदन प्रधानमन्त्री केपी ओलीले दिएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले १० हजार कित्ता शेयरका लागि आवेदन दिएका हुन् । प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यले १० हजार कित्ता र ऊर्जामन्त्री वर्षमान पुनले एक हजार कित्ता शेयरको लागि आवेदन दिएका छन् ।

यो कम्पनीले जारी पूँजी २ अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशत अर्थात कूल ३७ लाख ५ हजार कित्ता शेयर विक्रीमा लयाएको हो । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत यो कम्पनीको शेयरमा इच्छुक लगानीकर्ताले आफुले खरिद गर्न चाहेको शेयरको अंकित मूल्य १ सयका दरले हुने रकमको १० प्रतिशत अग्रिम भुक्तानी गर्न मिल्ने गरी शेयर निष्काशन गरेको हो ।

यसअघि जनताको जलविद्युत कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पहिलो शेयर आवेदन दिने घोषणा गरेका थिए । सोही अनुसार प्रधानमन्त्री ओलीले शेयर आवेदन दिएका हुन् ।

नुवाकोट र रसुवामा निर्माणाधीन आयोजनाले निष्काशन गरेको शेयरमध्ये ३ प्रतिशत अर्थात एक लाख ११ हजार १ सय ५० कित्ता कर्मचारीको लागि छुट्टयाएर बाँकी ३५ लाख ९३ हजार ८ सय ५० कित्ता शेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *