पर्यटन विकासका लागि पुर्वाधारको विकास महत्वपूर्ण : सुवेदी

खुमबहादुर सुवेदी, बरिष्ठ पर्यटन व्यबसायी तथा अध्यक्षका प्रत्यासी, ट्रेकिङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान)
करिब २६ वर्ष देखि लगातार नेपालको पर्यटन क्षेत्रमा सक्रिय व्यक्तिको नाम हो खुमबहादुर सुवेदी । धादीङ जिल्लाबाट उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएका उनले अन्तत पर्यटन क्षेत्रमा लागेर देशलाई समृद्ध बनाउने अठोट बोके । उच्च शिक्षाका लागि काठमाडौँ आएपछि नेपालको पर्वतीय पर्यटन तथा नेपालको हिमालहरु कहाँकहाँ छन् भनेर खोजी गर्ने उनमा उत्सुकता जाग्यो । त्यो उत्सुकताको परिपूर्ती गर्नको लागि पर्वतीय पर्यटनमा सहभागी भएका उनले पर्यटन क्षेत्रको विकासमा झण्डै २६ बर्ष विताए । यो अवधिमा ट्रेकिङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान) को केन्द्रीय सदस्य, कोषध्यक्ष हुँदै बरिष्ठ उपाध्यक्षसम्म भए । हाल बरिष्ठ उपाध्यक्ष रहेका उनलाई अधिकाँस सदस्यहरुले टानको नेतृत्व गर्न अघि सारेका छन् । लामो समय पर्यटन क्षेत्रको अनुभव हासिल गरेका खुमबहादुर सुवेदीले टानको नेतृत्व गर्न पाए भने नेपालको पर्यटन क्षेत्रमा ठुलो टेवा पुग्ने उनका समर्थकहरुको दावी छ । प्रस्तुत छ यसै सन्दर्भलाई लिएर सुवेदीसँग गरिको विशेष कुराकानी ः

सुरुको अवस्थामा तपाईंले नेपालमा पर्यटनको सम्भावना छ भनेर कसरी बुझ्नुभयो ?
मैले वि.सं. २०४७ मा एसएलसी दिएको हो । एसएलसी दिएपछि काठमाडौँ आएँ । काठमाडौँ त हामीले रेडियो नेपालबाट मात्रै सुनेका थियौँ । त्यो काठमाडौँ कहाँ हो ? भन्ने खोजी गर्ने क्रममा जब एसएलसी पास गरिसकेँ, त्यसबेलाको धादिङ, चैनपुर गाउँ विकास समिति (अहिलेको ज्वालामुखी गाउँपालिका) बाट काठमाडौँंलाई उच्च शिक्षा अगाडी बढाउने गन्तव्यको रुपमा चिनेँ । त्यसबेला घरबाट मलेखुसम्म पैदल र ट्याक्टर चढ्दै आईपुगेँ । मलेखुबाट काठमाडौँ आउने क्रममा काँकडभिट्टाबाट आएको बसमा झुन्डिँदै काठमाडौँ आईपुगेँ । रोजगारीको विभिन्न खोजी तथा आफ्नो उच्च शिक्षाको विभिन्न अवसरहरुलाई सदुपयोग गर्ने उद्देश्यका साथ म पर्वतीय पर्यटनमा समावेश भएँ ।
हाम्रै अगाडी थुप्रै हिमालहरु देखिन्थे । त्यतिखेर त्यो हिमालको महत्व बुझेको अवस्था थिएन । पछि म ट्रेकिङ कम्पनीमा समावेश भएँ । त्यसपछि विदेशी पर्यटकहरुलाई हिमाल पर्दापण गर्ने उत्सुकता ममा जाग्यो । त्यहि शिलशिलामा ट्रेकिङ गाईड हुँदै विभिन्न हिमालहरुको भ्रमण गर्ने अवसर पाएँ । विभिन्न डाँडाकाँडा, पूर्व पश्चिम जाँदैगर्दा यहाँका प्राकृतिक स्रोतहरु, नदिनाला, हिमाल पहाड, छहरा लगायतका विभिन्न स्रोतहरुबारे मलाई जानकारी भयो । त्यसपछि यसको महत्व बुझ्दै यसकै प्रवद्धनमा लाग्ने उत्प्रेरणा जाग्यो । त्यसैको परिणाम स्वरुप अहिलेसम्म म पर्यटन क्षेत्रमा आवद्ध छु ।

तपाईंले देखेको भिजन, तपाईंले चिनेको देश, तपाईंले देखेका पहाडहरु, हिमालहरुमा पदयात्राका शिलशिलामा ट्रेकिङ क्षेत्रमा गाईड गर्दै गर्दा त्यो भिजन, त्यो मिसन राष्ट्रले बोक्न सक्यो कि सकेन, के लाग्छ ?
नेपालमा हामीसँग प्रशस्त प्राकृतिक स्रोत र साधनहरु छन् । त्यो स्रोत र साधनहरुको प्रयोग गर्न नसक्नु हाम्रो दुर्भाग्य हो । स्रोत साधनहरु प्रयोगमा ल्याउन सक्यौँ भने प्रशस्त रुपमा हामीले आर्थिक उपार्जन गर्न सक्छौँ । पर्यटन व्यवसाय सजिलोसँग आम्दानी गर्न सक्ने एउटा क्षेत्र हो । यो व्यवसायमा गाडी तथा होटलमा मात्रै धेरै किसिमको लगानी गर्नुपर्छ । त्यो देखि बाहेक भनेको हामीले त्यति धेरै लगानी गर्नुपर्दैन । थोरै लगानीमा पनि धेरै आयआर्जन गर्ने क्षेत्र हो ।
सन् २००५ मा म बेल्जियमको भ्रमण गर्दै थिएँ । जुनबेलामा नेपालमा माओवादीको समस्या चरम उत्कर्षमा थियो । त्यतिखेर करिब ८५ प्रतिशत साथीहरुले मलाई बेल्जियममै बस्न उत्प्रेरणा गर्नुभयो । माओवादीको समस्या छ, नेपालमा केही पनि छैन । यहिँ बसौँ भनेर धेरै साथीहरुले मलाई अनुरोध गर्नुभयो । यदि म त्यहाँ बसेको भए एनआरएनको सदस्य लिएर, कुनै पद लिएर त्यतै व्यापार गर्ने होला । तर पनि देशमा पर्यटकिय गतिविधि असिमित छ । स्रोत र साधनको प्रयोग गर्नुपर्छ र विदेशमा बस्नुहुन्न भनेर त्यो भ्रमणलाई भ्रमणको रुपमा मात्रै लिएर नेपालमा नै केही गर्नुपर्छ भनेर २००५ मा नै म विदेशी मोहलाई छोडेर नेपालको पर्यटन प्रवद्र्धनका लागि सहभागि भएको हुँ । यस क्षेत्रमा थोरै लगानीबाट नै पर्याप्त आर्थिक उत्पादन गर्न सक्छौँ । तर आर्थिक उपार्जन गर्नको लागि सरकारले गर्नुपर्ने दायित्वहरु, नीतिनियमका कुराहरु, पूर्वाधारहरुको कुरा, अन्य विविध कुराहरुको सामञ्जस्य मिलेको छैन । त्यसले गर्दा म पूर्णरुपमा सन्तुष्ट त छैन । तर पनि नेपालमा भएको असिमित स्रोत र साधनको हामीले भरपुर सदुपयोग गर्नुपर्ने छ । स्रोत साधनको सहि सदुपयोग गर्न सक्यो भने नेपालले पर्यटकिय गतिविधिबाट काँचुली फेर्ने छ । त्यसैकारण नेपाल सरकारले गम्भिर रुपमा पर्यटनको महत्व बुझ्नुपर्ने देखिन्छ ।

हाम्रो देशमा पर्यटकहरुको उत्साहजनक सहभागीता नदेखिनुका कारण के हुन सक्छ ?
धेरै मुलुक भ्रमण गरेको अनुभवका आधारमा मैले बुझेको भनेको एउटा प्रचारप्रसारको कमी छ । धेरै देशका पर्यटकहरुलाई नेपाल कहाँ छ ?, यहाँ केके छ ? भन्ने कुराहरु नै थाहा छैन । अन्य थुप्रै चिजहरु छन्, त्यसमध्ये हामीसँग इन्टरनेसनल फ्लाइट कनेक्सनको कमि छ । लग्जरी किसिमका पर्यटकहरुले ८÷१० घन्टा एयरपोर्टमा बस्नुपर्ने जुन ट्रान्जिट छ, त्यो ट्रान्जिटमा उहाँहरु बस्न सक्नुहुन्न । उहाँहरुले छिटो पुग्न सक्ने अर्थात डाइरेक्ट फ्लाइटहरु खोज्नुहुन्छ । त्यसको हामीलाई समस्या छ । दोस्रो कुरा नेपाल आईसकेपछि पनि एयरपोर्ट भित्र जुन हामीले पाउनुपर्ने सुविधा हो, त्यो किसिमको सुविधाहरु छैन । जस्तो कि, भिसा सिस्टम फास्ट छैन । एयरपोर्टबाट बाहिर निस्किसकेपछि पनि सुविधाजनक यातायातको व्यवस्था छैन । गाडीमा चढेर आइसकेपछि वातावरण प्रदुषणको त्यत्तिकै समस्या छ । प्रदुषण नियन्त्रण छैन । त्यसपछि पनि हामीसँग जेजति होटलहरु छन्, पर्याप्त छैनन् । पर्यटकहरु गन्तव्यमा जाने क्रममा भाषागत गाईडहरु पनि पर्याप्त छैनन् । मूख्य गरि जोमसोम, लुक्ला, डोल्पा उडान हुने घरेलु उडानहरु पर्याप्त छैनन् । पर्यटकहरु बढि आएमा सिटहरु पुग्दैनन् । मौसम विग्रिएमा हेलिकप्टर प्रयोग गर्न पनि समयमै उपलब्ध हुन सक्दैन । पर्यटकहरु एकैपटक हिमालमा जाँदा पर्याप्त होटलहरु पनि हुन सक्दैनन् । यस्तै विविध कुराहरुले गर्दा हामीसँग पर्यटकिय गतिविधि सञ्चालन गर्नलाई कठिनाई छ । प्रचारप्रसारको कमि, सुविधाहरुको कमि, पूर्वाधारहरुको कमि छ ।

मुलुकमा पर्यटन क्षेत्रको विकास गर्नलाई सरकारले के गर्नुपर्ला ?
सबैभन्दा पहिले सरकारले पर्यटनको महत्व बुझ्नुपर्छ । भन्नलाई त प्रधानमन्त्री लगायत सबैले भन्दै आउनुभएको छ, ‘पर्यटनको महत्व उच्च छ ।’ त्यो उच्च त शब्दमा मात्रै भन्यौँ, प्रयोगमा ल्याउन सकेनौँ । यसलाई प्रयोगमा ल्याउन सर्वप्रथम त सहज तवरबाट इन्टरनेसनल कनेक्सन गर्नुपर्छ । गेष्टहरुको इच्छा अनुसार यातायातको साधनहरु हुनुपर्छ । पर्याप्त मात्रामा भाषागत ज्ञान भएका गाइडहरु पनि हुनुपर्छ । मुख्यगरि काठमाडौंकै सवालका कुरा गर्नु पर्दा प्रदुषणको स्थिती भयावह छ । यसलाई नियन्त्रण गर्नुपर्यो । कतिपय पर्यटकहरु आज आएर भोली नै फर्किएको उदाहरणहरु पनि छन्, जुन प्रदुषणकै कारणले हो । कतिपय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले त काठमाडौँ नघुम्नुस्, आफ्नो गन्तव्य कहाँ हो त्यहाँ सोझै गईहाल्नुस् पनि भनेका छन् । यी चिजहरुलाई सुधार गर्नुपर्ने देखिन्छ । त्यस्तै, विशेष गरि सरकारले संरचनाहरुको विकास गर्नुपर्ने देखिन्छ ।

पर्यटन क्षेत्रमा केकस्ता समस्याहरु छन् ?
हामीसँग प्रशस्तै समस्याहरु पनि छ । खासगरि पर्वतिय पर्यटनमा जाँदा विदेशी पर्यटकहरु परमिट लिएर जानुपर्छ । ट्रेकिङ इन्फरमेसन म्यानेजमेन्ट सिस्टम, जसलाई हामीले ‘टिम्स’ पनि भन्ने गरेका छौँ, त्यो अहिले बन्दको अवस्थामा रहेको छ । यो अवस्थामा अहिले केही गाउँपालिकाहरु खुम्बु–पासाङ ल्हामु गाउँपालिकाहरुले रोकेको अवस्था छ । पर्यटकको महत्वको बारे सरकारले त्यसलाई निराकरण गर्न अघि नबढेको अवस्था छ, यसले हामीलाई समस्या पारेको छ । यसबाहेक हामीले विभिन्न कार्यहरुमा पर्यटन बोर्डसँग सहकार्य गर्छौँ । अन्य सँस्थाहरुसँग पनि सहकार्य गर्दै अघि बढिरहेका हुन्छौँ तर पनि समस्याहरु सामाधान हुन सकेका छैनन् । यसको अर्थ के हो भने पर्यटकिय क्षेत्रको महत्व सरकारले बुझेको छैन या बुझेर पनि त्यसलाई कार्यन्वयन गर्न नसकेको अथवा जति गर्नुपर्छ भनेर हामीले भनेका हुन्छौँ, त्यसलाई इग्नोर गरिएको अवस्था छ । हामी व्यवसायीहरुमा पनि विभिन्न किसिमको अस्वस्थ प्रतिस्पर्धा भैरहेको छ । यो अस्वस्थ प्रतिस्पर्धालाई पनि स्वस्थ प्रतिस्पर्धामा लैजान हामीले भुटानको जस्तो मोडेलको रुपमा परिवर्तन गर्नुपर्छ भन्ने लागेको छ । हामीले डिजिटल सिस्टमबाट व्यापारहरु अपग्रेड गर्नुपर्ने छ । अरु मुलुकहरुसँग हामीले प्रतिस्पर्धा गर्नुपर्ने छ । हाम्रो सानो देश छ, धेरै ठुलो प्रमोसन गर्न सक्दैनौँ । यो प्रतिस्पर्धालाई पनि साथसाथमा लानुपर्ने छ । यो हाम्रो समस्याका रुपमा छ । पर्यटन मन्त्रालय हाम्रो अभिभावक हो । सो मन्त्रालयले गम्भिर रुपमा पर्यटनको महत्व बुझोस् । नेपालको समग्र पर्यटन उद्योगको रुपमा स्थापित होस् । पर्यटनकै माध्यमबाट आर्थिक उपार्जन गरोस् भन्ने हाम्रो चाहना छ । त्यहि अनुसार हामीले आफ्ना गतिविधिहरु अगाडी बढाईरहेका छौँ ।

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष –२०२० नजिकिँदै छ । नेपालमा पर्यटकहरु आउनका लागि के साँच्चै पर्यटन वर्ष घोषणा गरिनु नै पर्छ ?
नेपाल भ्रमण वर्ष २०२० एउटा इभेन्ट हो र यो राम्रो पक्ष हो भन्ने मलाई लाग्छ । तर यो राम्रो पक्षलाई सार्थक बनाउनको लागि भिजिट नेपालले गर्नुपर्ने आफ्नो दायित्वहरु केके हुन् भन्ने कुराहरुचाहिँ बिर्सिएको अवस्था छ । भिजिट नेपाल २०२० मा मात्रै विदेशी पर्यटकहरु किन आउनुपर्यो ? २०१९ मा आएपनि भयो या २०२१ मा आएपनि भयो । हामीसँग त्यस्तो कुनै स्पेशल अफरहरु छैन । त्यो सरकारको लागि ठुलो भुल हो । नेपालमा २०२० मा भ्रमण गर्न चाहिँ विदेशीहरु किन आउने ? नआउँदा के हुन्छ ? आउँदा के हुन्छ ? सेड्युलमा आउने पर्यटकहरु यसै आईहाल्छन् । त्यसमा भिजिट नेपाल २०२० छ भन्दै गर्दा अलिकति बढ्ला तर २०२० मै आउनुपर्ने कारण म देख्दिन । २०२० मा २० लाख पर्यटक आउँछन् भन्ने कुरामा शंका छ । किनकि हामीसँग पर्याप्त होटल छैन, पूर्वाधार छैन ? गाडी छैन ।

तपाईं टानको नेतृत्वका लागि अगाडी बढ्नुभएको हो ?
खासगरि विभिन्न ६ वर्षको समय पटकपटक गरेर मैले टानलाई कन्ट्रिब्युट गरेँ । एउटा अनुभव मैले लिएँ । त्यो अनुभव मैले मात्रै लिईन, राष्ट्रको लागि पनि मैले केही गरेँ । मेरो भएको अधिकतम समय मैले टान, पर्यटन व्यवसायी, र समग्र पर्यटन व्यवसायको लागि समर्पण गरेको भन्ने मलाई अनुभुति भएको छ । आगामी अधिवेसनमा मैले अध्यक्षको रुपमा दावी गरिरहेको छु । जुन प्रकट गर्न खोजेको मेरो दावी सार्थक हुनेछ । यो अर्थमा सार्थक हुनेछ कि पहिला भैसकेको अनुभवलाई एउटा कम्पाइल अनुभवको रुपमा अध्यक्षीय भूमिकामा मैले प्रस्तुत गर्ने जमर्को गरेको छु । जति अध्यक्ष हुँदा निर्देशन दिन सक्ने अधिकार हुन्छ, आफुले जिम्मेवारी लिइसकेपछि डेस्टिनेशनमा पुर्याउने दायित्व त्यो अध्यक्षको हुन्छ । अहिलेसम्म म अध्यक्षको भूमिकामा रहन पाएको छैन । मेरो आफ्नै डाईरेक्सन पनि डाईरेक्ट रुपमा कहिँ जान सकेको अवस्था होईन । आफैंले एउटा क्याप्टेनको रुपमा फ्लाइट उडाएर आफैंले ल्याण्ड गरेको अवस्था पनि होइन ।
केही समय अगाडी टानको ब्रान्ड केही खस्किएको अवस्था, टानलाई हेर्ने दृष्टिकोण अलिक फरक भएको अवस्था र पर्यटन प्रवद्धन गर्नका लागि टानको उच्च मूल्यांकन नभएको अवस्थामा उच्च ब्रान्डको साथ नैतिक, भौतिक तथा आर्थिक कुनै पनि अवस्थाबाट दुई वर्षको लागि मैले टानको अध्यक्षको रुपमा समर्पण गर्ने जमर्को गरेको छु । नेपालको पर्यटन उद्योगको महत्व थाहा हुँदाहुँदैपनि अध्यक्षको भूमिकाबाट अलि बढि प्रस्तुत गर्ने मलाई रहर लाग्यो । यो स्वभाविक पनि हो । यसमा सम्पूर्ण अग्रज व्यवसायी, साथीहरु, पर्यटन व्यवसायीहरुको सुझाव, सल्लाह, उहाहरुको आदेश तथा निर्देशन अनुसार टानको अध्यक्षको रुपमा मैले जाने इच्छा प्रकट गरेँ ।

टानमा तपाईं वरिष्ठ उपाध्यक्ष भैसकेपश्चात अब अध्यक्षका लागि सहमतिको माध्यमबाट जान सक्ने सम्भावना कस्तो रहला ? चुनाव गरिरहनु पर्ला ?
म दुवै पक्षबाट जान खुला छु । सहमतिबाट जाँदा पनि म सहमत छु भने चुनावै गरेर जाने भनेपनि म सहमत छु । मैले लामोसमससम्म पर्यटन व्यवसायीहरुलाई सहयोग गरेको छु र उहाँहरुले पनि मलाई गर्नुभएको छ । हामीबिच आदानप्रदान भएको सहयोगको तारतम्य मिलेको छ भन्ने मलाई लाग्छ । आगामी दिनहरुमा आउँदा पनि सम्पूर्ण पर्यटन व्यवसायीहरुले मलाई सहयोग गर्नुहुनेछ । टानमा राजनीति भन्दा माथि उठेर, सम्पूर्ण व्यवसायीहरुलाई समेटेर मैले काम गर्नेछु ।

अन्त्यमा, मुलुकलाई समृद्द बनाउनका लागि के गर्नुपर्ला ?
पहिला त सरकारले कुल जनसंख्यालाई राम्रोसँग नियाल्ने र उनीहरुको अनुभव अनुसारको श्रम दिने गर्नुपर्छ । जस्तो कि, को डाक्टर हुन योग्य छ, उसलाई डाक्टर बनाउने, को स्विपर हुन योग्य छ, उसलाई त्यहि बनाउनेतर्फ सरकार लाग्नुपर्छ । योग्यताको आधारमा कामको तारतम्य मिलाउन सक्नुपर्छ । यसो गर्दैगर्दा हामीसँग उद्योगधन्दा, कलकारखाना केकस्ता छन्, त्यसलाई हेर्नुपर्छ । र यसैमा कर्मचारीहरु व्यवस्थापन गर्न सक्नुपर्छ । क्षमता हेरेर काम दिनुपर्छ । सबैभन्दा ठुलो कुरा त उद्योगधन्दाहरु खोल्नुपर्छ । जसबाट सबैले आयआर्जन गर्न सक्छन् । जसबाट समग्र मुलुक समृद्ध बन्नमा सहयोग पुग्दछ ।

Please follow and like us:
error0

Leave a Reply

Your email address will not be published. Required fields are marked *