बैंकिङ क्षेत्रमा कर्जा असुलीको समस्या र लगानीको जोखिम बढ्दै

विश्वव्यापी रुपमा फैलिएको माहामारी कोरोना भाइरसको असर विश्व अर्थतन्त्रमा परेको छ । यो माहामारी अझ कहिले सम्म रहन्छ र अर्थतन्त्रलाई कति परसम्म धकल्ने हो यसै भन्न सक्ने स्थिति छैन । समग्र अर्थतन्त्र नै जोखिममा रहँदा अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको वित्तीय क्षेत्र सबभन्दा बढी प्रभावित हुन्छ । यसको असर हाल बैंकिङ क्षेत्रमा पनि देखिन थालेको छ । कोरोना भाइरसकै कारण हाल बैंकहरुको काम अस्तव्यस्त नै छन् । अत्यावश्यक सेवा भित्र रहेर आलोपालो शाखा केही घण्टाको लागि खोलेर सेवा दिने भनिएतापनि ग्राहकहरु नआउँदा निक्षेप संकलनमा व्यापक गीरावट आएको छ । यस्तो अवस्थामा व्यवसायमा लगानी लगायत अन्य कामका लागि कर्जा लिन आउने अवस्था छैन यसर्थ बैंकहरुले कर्जा प्रवाह समेत गर्न सकेका छैनन् । त्यसैले अहिले बैंकिङ क्षेत्र जोखिममा देखिन थालेको छ । बैंकहरुले खर्च कटौती गर्न कन्ट्रयाक्टमा रहेका स्टाफलाई कटौती गर्ने, बेतलबी बिदा दिने जस्ता उपायहरु गरीरहेका छन् । बैंकीङ क्षेत्रमा चैत महिनाको तुलनामा बैंशाखमा निक्षेप पनि घटेको देखिएको छ । कोरोना भाइरसको संक्रमण बढेसँगै निक्षेप संकलन प्रभावित भएको हो । चालु आर्थिक वर्षको चैत मसान्तसम्म नेपालको बैंकिङ प्रणालीमा ३५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप रहेको छ । यसमध्ये लगभग ३३ खर्ब त ऋण लगानीमा नै भएको छ । यस्तो अवस्थामा बैंकको साँवा ब्याज असुलीमा ठूलो समस्या आउने देखिन्छ, यसर्थ यो निकै जोखिमपूर्ण अवस्था पनि हो ।

हाल अधिकाशं व्यवसायीहरूको आयआर्जनको स्रोत ठप्प नै छ, यी मध्ये धेरै व्यवसायहरुमा फेरि व्यवसायमा फर्कनै नसक्ने तथा व्यवसाय नै छोड्ने अवस्था आएको छ । यसबाट बाहिर निस्कन थप लगानीको आवश्यक्ता पर्दछ । पर्यटन क्षेत्रमै बैंक तथा वित्तीय क्षेत्रको ५० अर्ब रुपैयाँ भन्दा माथी लगानी रहेको छ । हाल पर्यटन क्षेत्र ज्यादै नराम्ररी थलीएका छन् । ठुला लगानीका होटलहरु ६ महिनामा लागि बन्द भइसकेका छन् । यस्तो अवस्थामा बैंक तथा वित्तीय संस्थाले कर्जा दिन डराउने अवस्था छ किनभने अब गरीने लगानीले व्यवसाय चल्ने नचल्ने भन्ने निश्चित नै छैन । यस्तो बेला बैंकिङ क्षेत्रले पहिलेकोे ऋण समेत असुल गर्न नसक्ने र खराब कर्जा बढ्ने देखिन्छ ।
यसर्थ अब केन्द्रीय बैंकले वित्तीय क्षेत्रमा के कस्तो र कति असर पार्न सक्छ त्यसको अध्यन गरी यसबाट बाहिर निस्कने र कोही पनि मारमा नपर्ने गरी दीर्घकालीन रणनीति बनाउनु आवश्यक छ ।

राष्ट्र बैंक र बैंकरका फरक भनाई
बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तार रोकिएकाले नाफा वृद्धिदर खुम्चिन सक्ने भएतापनि नोक्सानमै जाने अवस्था नरहेको राष्ट्र बैंकको भनाई छ । चालु आवको नौ महिनासम्म बैंकले नियमित कारोबार भइरहेकोले अहिले नयाँ कर्जा विस्तार नभए पनि पहिलेबाट लगानीमा रहेको कर्जाबाट ब्याज आउने भएकाले घाटा नहुने केन्द्रीय बैंकको दाबी छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले चैतदेखि असारसम्मको ब्याजदरमा २ प्रतिशतले कम गर्नुपर्नेछ । यसले बैंकको ब्याज आयमा केही कमी आउने भएतापनि नोक्सान नै व्यहोर्नु नपर्ने जनाइएको हो । तर राष्ट्र बैंकको भनाइमा बैंकरहरूको असन्तुष्टी देखिएको छ । चैतदेखि असारसम्मको ब्याजमा २ प्रतिशत बिन्दुले कम गरी गणना गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनले बैंकहरूको नाफा प्रभावित हुने बैंकरहरुले बताएका छन् । यस्तो निर्णयले केही बैंकहरु चौथो त्रैमासमा नोक्सानमा समेत जाने अवस्था रहेको उनीहरुको भनाई छ ।

बैंकिङ खबरमा प्रकाशित समाचार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *