कोभिड बढेसँगै चौतर्फी कडाई

छिमेकी मुलुक भारत र नेपालमै पनि कोरोना भाइरसको दोस्रो लहरको संक्रमण चुनौतीपूर्ण बन्दै गएसँगै उच्च सतर्कता अपनाउन थालिएको छ । सरकारले कोरोना जोखिम न्यूनीकरणका लागि विभिन्न आदेश जारी गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संक्रामक रोग ऐन, २०२० को दफा (२) बमोजिम आदेश जारी गरेको हो । सोमबार नै नेपाल राष्ट्र बैंकले पनि यस सन्दर्भमा बैंक तथा वित्तीय संस्थाहरुका लागि नौ बुँदे निर्देशन जारी गरिसकेको छ । सरकारी निर्देशनपछि बैंक तथा वित्तीय संस्थामा संक्रमणको जोखिम न्यूनीकरणका लागि सतर्कता बढाइको छ ।

सरकारले जारी गरेको आदेशमा ‘नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थामा सेवा तथा कार्यको लागि विद्युतीय भुक्तानी प्रणाली लागु गर्न सहजीकरण गर्ने, सेवाशुल्क र महसुल अग्रिम वा एकमुष्ट रूपमा बुझाउन चाहनेलाई सोबमोजिम गर्न सक्ने व्यवस्था मिलाउने विद्युतीय भुक्तानी प्रणाली लागु गर्न व्यवस्था मिलाउने’ भनिएको छ ।

बैंकिङ क्षेत्र दैनिक रूपमा भिडभाड हुने ठाउँमा पर्छ । सेवाग्राहीको भिडभाड हुने तथा नियमित सेवा दिनैपर्ने भएकाले यो क्षेत्रलाई संक्रमणको उच्च जोखिम क्षेत्रका रुपमा लिइँदै आएको छ । विगतका दिनहरूमा पनि बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिन थालेपछि बैकिङ क्षेत्र ‘कोरोना हटस्पट’ बन्न थालेको थियो । करिब ८० प्रतिशत कर्मचारी ‘वर्क फ्रम होम’मा थिए भने उपत्यकाबाहिर भित्र पनि बैंकका शाखा कार्यालयहरूमा कोरोना संक्रमण देखिएको थियो । उपत्यकाबाहिरका धेरैवटा बैंकिङ शाखाका कर्मचारीमा संक्रमण देखिएपछि शाखा कार्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको थियो । अहिलेको अवस्थामा पनि कोरोनाको संक्रमण बढ्दै जाँदा त्यो स्थिति अथवा त्योभन्दा पनि कठिन अवस्थाको सामना गर्नुनपर्ला भन्न सकिँदैन ।

बैंकिङ कारोबार जस्तोसुकै परिस्थितिमा पनि नियमित चलिरहने प्रक्रिया हो । त्यसैले यस क्षेत्रमा सेवा दिने संस्थाहरूले सावधानीका सबैखाले उपाय अवलम्बन गर्दै निरन्तर सेवा दिइरहनुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *