उपभोग घटोस् भनेर ब्याजदर बढाउने नीति लिएका हौंः गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उपभोग घटोस् भनेर नेपाल राष्ट्र बैंकले ब्याजदर बढाउने नीति लिएको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक स्थायित्वका लागि महासंघको पहल विषयक आइतबार आयोजना गरेको अन्तक्र्रियामा गभर्नर अधिकारीले भन्नुभयो ‘मूल्य बढ्दा समेत उपभोग घट्न सकेको छैन् । जतिसुकै मूल्य परेपनि हाम्रा उपभोक्ता किन्न तयार भएका छौँ । जसले गर्दा ब्याजदर बढ्दा समेत उपभोग घट्न सकेको छैन् ।’

अर्थतन्त्र बचाउन सक्यो भने व्यवसाय गर्न मिल्ने भन्दै उहाँले पछिल्लो समय सर्तक भएर काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
राष्ट्र बैंकले एलसी खोल्दा नगद मार्जिन राख्ने, बैंकको ब्याजदर बढाउने र केही वस्तु आयातमा एलसी नखोल्ने नीति राष्ट्रिय हितका लागि लिइएको पनि उहाँको भनाइ छ । एलसी खोल्दा नगद मार्जिनको नीति लिएपछि व्यवसायीले भन्सारको बाटो छलेर सामान ल्याइरहेको समेत गभर्नर अधिकारीले आशंका व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आजका दिनमा अर्थतन्त्रको अवस्था सकारात्मक छैन । एकै वर्षमा २ ÷३ अर्ब डलरको रिजर्भ घट्नु गम्भीर विषय हो । सधैँ हामीले यो समस्या झेल्न सक्दैनौँ । अहिले नाफा कमाउनेभन्दा पनि अर्थतन्त्र जोगाउने समय हो । सर्तक भएर काम गर्नुपर्ने छ ।’

आर्थिक अवस्था सहज बनाउन केन्द्रीय बैंकले हदै सम्मको इन्टरभेन्सन गरेकाले व्यवसायीबाट समेत संकटको अवस्थामा सहयोग हुनुपर्ने उहाँको भनाइ छ ।

पछिल्लो समय कोरोना महामारीपछि बजारमा माग बढेको अनुपातमा आपूर्ति बढ्न नसक्दा अर्थतन्त्रमा समस्या देखिएको गभर्नर अधिकारीको भनाइ छ ।

‘कोरोनापछि उपभोग अत्याधिक बढेको देखिन्छ । उच्च दरमा माग बढ्दा संसारभर मूल्य बढेको छ’, अधिकारीले भन्नुभयो, ‘जस्तो टर्कीमा औषतमा ७० प्रतिशतले मूल्य बढेको छ । ४० वर्षपछि अमेरिकामा ८ प्रतिशले मूल्य बढेको छ । युरोपमा २५ वर्षपछि ५ प्रतिशतले मुल्य बढेको छ ।’ कोरोना महामारीपछि उपभोग बढेको अनुपातमा उत्पादन नबढ्दा संसारका सबै धनी गरिब देशलाई मूल्यवृद्धी असर गरिरहेको अधिकारीको भनाइ छ ।

तरलता अभावको समस्या तत्कालै हट्दैन

उहाँले तत्कालै बजारमा तरलता अभावको समस्या नहट्ने पनि बताउनुभयो । राष्ट्र बैंकले तरलता सहज बनाउन प्रयास गरिरहेको भए पनि तरलताको समस्या अझै केहि समय रहने देखिएको उहाँको भनाइ छ ।

अधिकारीले अहिले पनि अर्थत्रन्त्रका सूचकहरु राम्रो नरहेको बताउँदै तरलताको समस्या अझै केहि समय रहने उहाँको भनाइ छ । अहिले शोधानान्तर स्थिति निकै नकारात्मक रहेको र यो बजारको तरलतासँग गाँसिएकोले तरलता समस्या अझै केहि समय रहने पनि उहाँले बताउनुभयो ।

आयातमा गरिएको कडाईको असर देखिन थाल्यो

आयातमा गरिएको कडाईको असर देखिन थालेको पनि गभर्नर अधिकारीले बताउनुभएको छ । आयातमा खाद्यान्न र इन्धनको हिस्सा ५० प्रतिशत भन्दा बढी भएको भन्दै आयातमा गरिएको कडाईको असर देखिन थालेको उहाँको भनाइ छ ।

चालु वर्ष चैतको भन्दा वैशाखमा आयात घटेर २१ अर्बले घटेर १ सय ३७ अर्बमा आएको छ । जसको लागि राष्ट्र बैंकले मौखिक रुपमा प्रतितपत्र (एलसी) नखोल्न निर्देशन दिएको थियो । गभर्नर अधिकारीले विश्वमा सबैले यो महँगी झेल्नु परेको र देश आयातमा आधारित भएकाले महँगी बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ’एक वर्षमा हुने आयात ६ महिनामै गरिसकेका छौं । इन्धनमा हेर्ने हो भने अघिल्लो वर्ष आयात भएको इन्धन त ९ महिनामै आयात गरिसकेको अवस्था छ । अनावश्यक वस्तुको खपत बढेको छ । हामीले गरेको निर्देशन तथा नीतिको असार देखिन थालेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *