संसारका सबैजसो देशहरुमा चुनौतिपूर्ण बन्दै मुद्रास्फीति !

यतिबेला नेपाल लगायत विश्वभरका धेरै देशहरु अनियन्त्रित मुद्रास्फीतिको चपेटामा छन् । भारतमा खुद्रा मुद्रास्फीति अझै ८ वर्षकै उच्च छ । अमेरिका र बेलायतमा मुद्रास्फीतिको दर हाल धेरै दशकहरूमा सबैभन्दा उच्च छ।

नेपालकै मूल्यवृद्धि निरन्तर उकालो लागेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.१० प्रतिशत रहेको थियो ।

चैत महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४० प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.१८ प्रतिशत रहेको छ । चैत महिनामा औसत मुद्रास्फीति ५.६२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

२०७७ चैत महिनाको तुलनामा २०७८ चैत महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दुग्ध पदार्थ तथा अण्डा, दाल तथा गेडागुडी र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २८.३६ प्रतिशत, ११.५६ प्रतिशत, १०.५३ प्रतिशत र ८.९१ प्रतिशत रहेको छ ।

साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा र विविध वस्तु तथा सेवा उपसमूहको मुद्रास्फीति क्रमशः २०.१६ प्रतिशत, ८.७९ प्रतिशत र ८.१७ प्रतिशत रहेको छ । चैत महिनामा काठमाडौं उपत्यकामा ६.२५ प्रतिशत, तराईमा ७.६१ प्रतिशत, पहाडमा ७.७९ प्रतिशत र हिमालमा ८.२५ प्रतिशत मुद्रास्फीति रहेको छ ।

२०७७ चैतमा यी क्षेत्रहरुमा क्रमशः ३.२४ प्रतिशत, २.९२ प्रतिशत, ३.३८ प्रतिशत र १.५४ प्रतिशत मुद्रास्फीति रहेको थियो । २०७८ चैत महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १४.४२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.१४ प्रतिशत रहेको थियो । चैत महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १७.०७ प्रतिशत, १४.१३ प्रतिशत र ७.२२ प्रतिशत रहेको छ । सोही महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २५.२२ प्रतिशत रहेको छ ।

नेपालको याे मुद्रास्फीति विगत ६४ महिना (पाँच वर्ष)कै उच्च हो । अहिले दैनिक उपभोगका अत्यावश्यक वस्तु (तरकारी, खाने तेल, दाल, चामल)को मूल्य आकासिएको छ । आधारभूत आवश्यकता अन्तर्गतको अर्को क्षेत्र स्वास्थ्य सेवा र गैरखाद्य सामग्रीको मूल्य पनि चुलिएको छ । बेलैमा नियन्त्रण गर्ने उपाय नल्याउने हो भने यसै आर्थिक वर्षको अन्त्यसम्ममा मुद्रास्फिति झण्डै दोहोरो अंकमा पुग्ने अनुमान गर्न सकिन्छ ।

विश्वका  विभिन्न देशका  मुद्रा स्फितिको अवस्था :-

भारतमा पनि त्यस्तै समस्या

भारतमा उपभोक्ता मुद्रास्फिती बढेर ७.७९ प्रतिशत पुगेको छ । मुद्रा स्फिति बढेर गएपछि भारत सरकारले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ । छिमेकी मुलुकले गहुँ निर्यातमा प्रतिबन्ध लगाउँदा नेपालमा गहुँ आयात रोकिनेछ । जसले नेपालमा गहुँ तथा गहुँजन्य पदार्थबाट बनाईने बस्तुहरु उत्पादनमा प्रभाव राख्नेछ । तर, यो अल्पकालीन निर्णय मात्रै भए पनि कति समयका लागि प्रतिबन्ध लगाइएको भन्ने यकिन भारतले गरेको छैन ।

सरकारले यो कदम देशको समग्र खाद्य सुरक्षा प्रबन्ध गर्न र छिमेकी र अन्य खाँचोमा परेका देशहरूको आवश्यकतालाई समर्थन गर्न भनेर बताएको छ ।
युक्रेन र रुसबीचको युद्धका कारण भारतको अर्थतन्त्र पनि नराम्ररी प्रभावित बनेको छ । जसले निकै महँगी बढेको छ भने खाद्य सुरक्षामा सचेत रहन त्यहाँका विज्ञहरुले जोड गरेका छन् ।

गहुँको मूल्य निकै बढेपछि यसबाट बन्ने सबै उपभोग्य बस्तुहरुको मूल्य पनि बढेर गएको छ । भारतको दैनिक खाद्य बस्तु रोटी हो । गहुँको मूल्य बढ्नासाथ भारतीयहरुको भान्सामा सिँधै असर गर्दछ ।

श्रीलंकामा मुद्रास्फिति दर २५ प्रतिशत माथि

केही महिनादेखि गहिरो आर्थिक संकटमा फसिरहेको श्रीलंकाको मुद्रास्फिति दर २५ प्रतिशत माथि छ । श्रीलंकाको इतिहासमै यो आर्थिक संकट ७३ वर्षपछिको सबैभन्दा ठूलो हो । यतिबेला श्रीलंकाका सर्वसाधारण नागरिकको जीवन दिन–प्रतिदिन कष्टकर बन्दै गएको छ ।

पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धि, घट्दो विप्रेषण र रूस–युक्रेन युद्धजस्ता कारणले बाह्य क्षेत्रलाई संकटोन्मुख बनाए पनि मूल रूपमा सस्तो लोकप्रियताका लागि लिइएका राजनीतिक निर्णयहरू, गलत आर्थिक नीतिजस्ता घरेलु कारणहरूले नै यस मुलुक संकटको भुमरीमा फसेको हो ।श्रीलंकाली अर्थतन्त्र दशकौंदेखि ऋणमा आधारित थियो । दुई दशकअघिसम्म कुल गार्हस्थ्य उत्पादनको ६० प्रतिशत हाराहारी रहेको सार्वजनिक ऋण सन् २०१९ मा ८८ प्रतिशत हुँदै हालका वर्षहरूमा शतप्रतिशत नाघेको छ ।

श्रीलंकाको वैदेशिक ऋण खास गरी अन्तर्राष्ट्रिय पुँजी बजारबाट लिइएको हो जुन कुल ऋणको ४७ प्रतिशत छ । एसियाली विकास बैंक, विश्व बैंकजस्ता बहुपक्षीय दातृ संस्थाहरूबाट लिइएको ऋणले कुल सार्वजनिक ऋणको २२ प्रतिशत हिस्सा ओगट्छन् ।

अष्ट्रेलियामा एक दशकपछि बढाइयो ब्याजदर

अष्ट्रेलियाको केन्द्रीय बैंकले एक दशकपछि ब्याजदर वृद्धि गरेको छ । बढ्दो मुद्रा स्फीतिलाई नियन्त्रण गर्न ब्याजदर बढाइएको हो । रिजर्व बैंक अफ अष्ट्रेलियाले निक्षेपको ब्याजदर शून्य दशलमव एक प्रतिशतबाट बढाएर शून्य दशमलव ३५ प्रतिशत पु¥याएको हो ।

पेट्रोलियम पदार्थ, आवास निर्माण र खाद्यान्नको लागत बढेका कारण पहिलो त्रैमासिक अवधिमा अस्ट्रेलियाको उपभोक्ता मूल्य दुई दशक यताकै तीव्र गतिमा बढेपछि सन् २०१० को अन्त्यपछि पहिलो पटक दर वृद्धि गरिएको हो ।

आरबीएका गभर्नर फिलिप लोवेले मुद्रास्फीति अपेक्षाभन्दा छिटो वृद्धि भए पनि बेरोजगारी कम हुने र ज्याला वृद्धिमा सुधार हुने बताउनुभएको छ ।
अष्ट्रेलियामा आमचुनावको तयारी हुदै गर्दै ब्याजदर वृद्धि हुँदा ऋणको ब्याज पनि बढ्ने र त्यसले घरायसी बजेटमा थप दबाब बढ्ने आकंलन गरिएको छ । पछिल्लो २१ वर्षमा उच्च मुद्रास्फीति ब्यहोरिरहेको अष्ट्रेलियामा मुद्रास्फिति ५ दशमलव १ प्रतिशत पुगेको छ ।

जापानमा मुद्रास्फीति दर २ प्रतिशत माथि जाने आँकलन

जापानको केन्द्रीय बैंकले मुद्रास्फीति दर २ प्रतिशत आँकलन गरेको छ । बढ्दै गएको इन्धन तथा खाद्यान्नको मूल्यका कारण मुद्रास्फीति दर २ प्रतिशत भन्दा माथि जाने उपभोक्ता मुद्रास्फीति सूचांकले जनाएको छ ।

यसैगरी विश्वव्यापी रुपमा अरु देशहरुले संकुचित मौद्रिक नीति अवलम्बन गरिरहँदा जापानले अवलम्बन गरेको विस्तारकारी मौद्रिकका कारण पनि जापानमा मुद्रास्फीति दर बढ्दै गएको विश्लेषकहरु बताउँछन् ।

आकाशिएको कच्चा पदार्थ, इन्धन तथा खाद्यान्नको मूल्यका कारण अप्रिल महिनाको उपभोक्ता मुद्रास्फीति सूचांक २.१ प्रतिशत भएको हो ।
जापानी केन्द्रीय बैंक, बैंक अफ जापानका गर्भनर हारुहिको कुरोडाले मुद्रास्फीति अस्थायी हुने भएकाले आफूहरु विस्तारीत मौद्रिक नीति परिवर्तन गर्ने पक्षमा नरहेको बताउनुभएको छ ।

टर्कीको मुद्रास्फीति दर झण्डै ७० प्रतिशत

टर्कीको आधिकारिक मुद्रास्फीति दर झण्डै ७० प्रतिशत पुगेको छ । मुद्रास्फीति दरले राष्ट्रपति रेसेप तैयप एर्डोगनको सरकारलाई ठूलो चुनौती खडा गरेको छ । उपभोक्ता मूल्य सूचकाङ्क अप्रिलमा वर्षको तुलनामा ६९.९७ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्क अनुसार मार्चमा ६१.१४ प्रतिशतले बढेको छ ।

मुद्रास्फीति कम गर्न तलबको सट्टा सुन

बेलायतको लण्डनस्थित एक कम्पनीले आफ्ना कर्मचारीमा भएको मुद्रास्फीतिको प्रभावलाई कम गर्न अनौठो उपाया अपनाएको छ । कम्पनीले अब आफ्ना कर्मचारीलाई नगदको सट्टा सुनमा तलब दिने भएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार वित्तीय सेवा प्रदायक कम्पनी TallyMoney ले अब आफ्ना कर्मचारीहरूलाई तलबको सट्टामा सुन दिने तयारी गरेको छ। समाचारमा, ‘कम्पनीका सीईओ क्यामरुन पेरीलाई उद्धृत गर्दै विदेशी सञ्चारमाध्यले लेखेका छन सुन मुद्रास्फीतिबाट जोगाउन प्रभावकारी साबित हुन्छ। सोही कारण कम्पनीले आफ्ना कर्मचारीलाई तलबमा सुन दिने निर्णय गरेको हो ।’ सीईओ भन्छन्, ‘वर्तमान युगमा परम्परागत मुद्राले निरन्तर आफ्नो क्रयशक्ति गुमाउँदै गएको छ । यस्तो अवस्थामा सुनले मानिसलाई मुद्रास्फीतिसँग अगाडि रहन मद्दत गर्छ ।’

पेरीले पाउन्डको क्रयशक्ति गुमाउने तरिका चिन्ताजनक रहेको बताउँछन् । अर्कोतर्फ यो वर्ष सुनको भाउ निरन्तर बढेको छ । उनले भने, ‘जीवनको महँगो झन् खराब हुँदै गएको छ । यस्तो अवस्थामा, पाउन्डमा भुक्तान गर्नुको कुनै अर्थ छैन, विशेष गरी जब यो प्रत्येक दिन बित्दै जान्छ। यो खुला घाउमा ब्यान्ड/एड लगाउनु जस्तै हो।’

अहिले टेलिमोनीमा २० जनाभन्दा बढी काम गरिरहेका छन्। कम्पनीले आफ्ना वरिष्ठ कर्मचारीलाई सुनमा तलब दिन थालेको छ । कम्पनीले अब सबै कर्मचारीका लागि एउटै भुक्तानी प्रणाली लागू गर्न लागेको हो । सीईओ प्यारी आफैले पनि सुनमा तलब लिइरहेका छन् । तर, कम्पनीले कर्मचारीलाई पाउण्डमा तलब लिने अवसर पनि दिनेछ ।

बेलायतमा जीवनयापन लागत द्रुत गतिमा बढिरहेको छ र बेलायती रकम पाउन्ड हाल दुई वर्षको न्यून बिन्दुमा छ। बैंक अफ इङ्ल्यान्डले सन् २०२२ अर्थतन्त्रको लागि मन्दीको वर्ष हुन सक्ने चेतावनी दिएको छ ।

अमेरिकामा मन्दीको खतरा

अमेरिकामा मन्दीको खतरामा रहेको रिर्पोटहरु आउन थालेका छन। गोल्डम्यान साक्सका वरिष्ठ अध्यक्ष लोयड ब्लाङ्कफेनले यसबारे चेतावनी दिएका छन्। ब्ल्याङ्कफेनले भने, ‘अमेरिका मन्दीको खतरामा छ र जोखिम धेरै उच्च छ। यदि म ठूलो कम्पनी चलाउँदै छु भने म त्यसको लागि तयार छु। म उपभोक्ता भए पनि मन्दीको संकेत देखेर आफूलाई तयार गर्नुपर्छ ।’

ब्ल्याङ्कफेनका अनुसार मन्दी कुनै सानो कुरा होइन। यसबाट बच्न, बाटो धेरै सावधानीपूर्वक छनोट गर्नुपर्छ। फेडरल रिजर्भसँग मुद्रास्फीति कम गर्न केही धेरै बलियो उपकरणहरू छन् र तिनीहरूलाई राम्रोसँग प्रयोग गरिरहेको छ भनेको छ । । ब्ल्याङ्कफेनले सीबीएस टिभी च्यानलको कार्यक्रम फेस द नेसनमा यस्तो बताएका हुन् । कोभिड महामारीका कारण सारा विश्व पहिले नै अवरोधको सामना गरिरहेको थियो र अहिले रुस–युक्रेन युद्धले समस्या बढाएको छ ।

गोल्डम्यान भनाइ अनुसार आर्थिक टोलीले यस वर्ष देशको जीडीपी कम हुने अनुमान आएको छ ।  जेन हेटजियसको नेतृत्वमा रहेको गोल्डम्यानको टोलीले तयार पारेको प्रतिवेदनले यस वर्षको अमेरिकी जीडीपी प्रक्षेपण २.६५ बाट घटाएर २.४५ गरेको छ। २०२३ को लागि पूर्वानुमान पनि २.२५ बाट १.६५ मा घटाइएको छ।

मूल्यवृद्धिका कारण अमेरिकामा उपभोक्ताको भावना खस्किएको छ । खाद्यान्न, पेट्रोल, आवास र अन्य अत्यावश्यक वस्तुहरूको मूल्यका कारण मार्चमा अमेरिकामा मुद्रास्फीति ८.५ प्रतिशत पुगेको छ। यो पछिल्लो ४० वर्षमा वार्षिक आधारमा मुद्रास्फीतिमा भएको सबैभन्दा ठूलो वृद्धि हो।

मुद्रास्फीति कसरी जारी गरिन्छ ? के के छन् मापदण्ड ?

सर्वसाधारणले प्रयोग गर्ने समग्र वस्तु र सेवाहरूको औसत मूल्यस्तरमा वृद्धि भएको र यस्तो वृद्धि निरन्तर भएको अवस्था मुद्रास्फीति हो । यसको मतलब, केही वस्तु वा सेवाको मात्र मूल्यवृद्धि भएमा त्यसलाई मुद्रास्फीति भनिँदैन । यसका लागि समग्र मूल्यस्तरमा वृद्धि भएको हुनुपर्छ । केहीको मूल्य घटे पनि धेरैजसो वस्तु र सेवाको मूल्यवृद्धि भएको छ र त्यस्तो वृद्धि लगातार भएको छ भने त्यस अवस्थालाई मुद्रास्फीति भनिन्छ ।

बजारमा मुद्राको परिमाणमा वृद्धि भएपछि सँगसँगै वस्तु तथा सेवाको उत्पादन वा आकृति बढेन भने मुद्राको क्रयशक्ति कम हुन्छ र यही अवस्थालाई मुद्रास्फीति भनिन्छ ।

अर्को शब्दमा, वस्तुको मूल्य बढ्नु र पैसाको मूल्य (क्रयशक्ति) घट्नु नै मुद्रास्फीति हो । यस्तो अवस्थामा वस्तु महँगो पर्ने भएकाले थोरै सामानका लागि पनि धेरै पैसा खर्च गर्नुपर्ने अवस्था सृजना हुन्छ । सामान्यतयाः मुद्राको परिमाणमा वृद्धिले मात्र मुद्रास्फीतिको अवस्था नआउन सक्छ । यसको अर्थ मुद्राको परिमाणमा वृद्धिबाहेक अन्य विभिन्न कारणले पनि मुद्रास्फीति हुन सक्छ ।

जुन अनुपातमा मूल्यस्तर वृद्धि हुन्छ सोही वा सोभन्दा धेरै अनुपातमा उत्पादनमा वृद्धि हुन्छ भने त्यस्तो अवस्थामा मुद्रास्फीति नहुन सक्छ । मुद्रास्फीतिको अवस्था त्यतिबेला मात्र सृजना हुन्छ, जतिबेला उत्पादनको तुलनामा मौद्रिक आम्दानी (प्रवाह) वृद्धिदर बढी हुन्छ ।

मुद्रास्फीतिका कारण

माग प्रेरित मुद्रास्फीति (मौद्रिक आम्दानीमा वृद्धि)
मौद्रिक आम्दानीमा वृद्धि हुँदा वस्तु तथा सेवाको माग बढ्न जान्छ । तर, सो अनुपातमा उत्पादनमा वृद्धि भएन भने मुद्रास्फीति हुन्छ । माग बढेका कारण यस्तो भएकाले त्यसलाई माग प्रेरित मुद्रास्फीति भनिन्छ । सामान्य अवस्थामा निम्न कारणले यो अवस्था सृजना हुन्छ ।
क) केन्द्रीय बैङ्कले जारी गरेको प्रारम्भिक मुद्रा तथा बैङ्कहरूले सृजना गरेको शाख मुद्राको आपूर्तिमा वृद्धि ।
ख) घाटाको सरकारी वित्त व्यवस्था
ग) जनसङ्ख्या वृद्धि
घ) कर कटौती
ङ) वैदेशिक ऋण, लगानी, सहायता र विषेषण आयमा उच्च वृद्धि (यसबाट माथि ‘क’मा दिएको अवस्था सृजना हुन्छ)

लागत वृद्धि मुद्रास्फीति(उत्पादन लागतमा वृद्धि)

उत्पादन लागत बढेका कारण वस्तु तथा सेवाको मूल्यवृद्धि हुन्छ । मूल्य बढेका कारण माग केही घटेपछि माग र आपूर्तिबीचमा असन्तुलनका कारण मूल्यवृद्धि सृजना भएमा त्यसलाई लागत वृद्धि मुद्रास्फीति भनिन्छ । सामान्यतया निम्न कारणले यो अवस्था सृजना हुन्छ स्
क) पूँजी लागतमा वृद्धि
ख) कच्चापदार्थको मूल्यमा वृद्धि
ग) ब्याजदरमा वृद्धि
घ) प्राकृतिक प्रकोप आदि

मुद्रास्फीतिका चरण

मुद्रास्फीतिलाई सामान्यतया चार चरणमा विभाजन गर्ने गरिन्छ :

क) क्रिपिङ इन्फ्लेशन (मन्द मुद्रास्फीति) : वार्षिक मूल्यवृद्धि दर ३ प्रतिशतभन्दा कम भएको अवस्थालाई क्रिपिङ इन्फ्लेशन भनिन्छ । आर्थिक वृद्धिका लागि यत्तिको इन्फ्लेशन आवश्यक मानिन्छ । यत्तिको मुद्रास्फीति उत्पादकहरूलाई उत्पादन कार्य चलाइरहन प्रेरक हुन्छ ।

ख) वाकिङ इन्फ्लेशन (बढ्दो मुद्रास्फीति) : न्यूनतम ३ प्रतिशतदेखि ७ प्रतिशतसम्म मूल्यवृद्धि भएको अवस्थालाई वाकिङ इन्फ्लेशन भनिन्छ । केही अर्थशास्त्रीहरूले ९ प्रतिशतसम्मको मूल्यवृद्धिलाई पनि यसै चरणभित्र समावेश गर्छन् । यो पनि त्यत्ति आत्तिइहाल्नुपर्ने अवस्था होइन । यसले पनि उत्पादकहरूलाई प्रेरणा दिने भूमिका खेल्छ ।

ग) रनिङ इन्फ्लेशन (दौडँदो मुद्रास्फीति) : सामान्यतयाः १० प्रतिशतदेखि २० प्रतिशतसम्मको मूल्यवृद्धिलाई रनिङ इन्फ्लेशन भनिन्छ । यस्तो प्रकारको इन्फ्लेशन आर्थिक विकासका लागि खतरनाक मानिन्छ । यस्तो अवस्थामा कामदारहरूले ज्याला बढाउन निकै कडा दबाब दिन्छन् । र, उत्पादन लागत व्यवस्थापन गर्न गाह्रो हुन्छ । यो अवस्था नियन्त्रणका लागि बलियो मौद्रिक र वित्तीय नीति आवश्यक पर्छ ।

घ) हाइपररग्यालोपिङ इन्फ्लेशन (अनियन्त्रित मुद्रास्फीति) : यो मूल्यवृद्धिको सबैभन्दा उच्चतम अवस्था हो । २० प्रतिशतभन्दा धेरैले मूल्य बढेको अवस्थालाई हाईपररग्यालोपिङ इन्फ्लेशन भनिन्छ । यो अवस्था अर्थतन्त्रका लागि निकै डरलाग्दो हुन्छ । यो अवस्थालाई सामान्यतया खतरनाक र सामान्य मौद्रिक तथा वित्तीय नीतिबाट नियन्त्रण हुन नसक्ने अवस्था पनि मानिन्छ । यसलाई नियन्त्रण गर्न समग्र अर्थतन्त्रकै व्यापक पुनःसंरचना गर्नुपर्छ । यस्तो अवस्थामा केही देशले पुरानो मुद्रालाई नै परित्याग गरेर नयाँ मुद्रा जारी गर्नेसम्म गरेका छन् ।

लगानीकर्तामा मुद्रास्फीतिको प्रभाव

मुद्रास्फीति उच्च भएमा उपभोक्ताको क्रयक्षमतामा कमी आउने भएकाले सीमित आय भएका लगानीकर्ताले ठूलो जोखिम लिन चाहँदैनन् । त्यस्तै धेरै आम्दानी भएका लगानीकर्ताले पनि मुद्रास्फीतिको अवस्थामा लगानी गर्न उत्साहित हुँदैनन् ।
मुद्रास्फीतिको अवस्थामा मुद्राको मूल्य कम हुँदै जाने भएकाले बचत गरेको मुद्राको मूल्यमा ह्रास आउँछ । यसले मानिसहरू बचत गर्न प्रोेत्साहित नहुन सक्छन् ।

सामान्यतया मुद्रास्फीति उच्च हुँदा ब्याजदर पनि उच्च हुन्छ र कम हुँदा ब्याजदर पनि कम हुन्छ । तसर्थ, मुद्रास्फीतिको अवस्थामा लगानीकर्ता अपुग लगानीका स्रोत खोज्न वा नयाँ लगानी गर्न उत्साहित हुँदैनन् । मुद्रास्फीतिको अवस्थामा मुद्राको मूल्यमा ह्रास आउँछ । त्यसैले, लगानीकर्ताले सानो पोर्टफोलियो निर्माणका लागि पनि ठूलो धनराशि खर्च गर्नुपर्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *